• १४ फागुन २०८२, बिहिबार

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

blog

बिहीबार निर्वाचन आयोगमा आयोजित कार्यक्रममा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी गराउनेक्रममा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, फागुन १४ गते ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताउनुभएको छ ।

आयोगले आज यहाँ आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको उपस्थिति थियो । आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष निर्वाचन गराउन जिल्लाजिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको बताउनुभयो ।

सात सय ५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले निर्वाचनलाई पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारले निर्वाचन खर्च गराउन अनिवार्य बैंक खाता खोल्ने व्यवस्था गरिएको कूटनीतिक नियोगका अधिकारीलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचन तयारीका विषयमा प्रस्तुति दिनुभएको थियो । सो अवसरमा आयोगका आयुक्तद्वय डा.जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरालगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।रासस