प्रेमराज सिम्खडा
कालीकोट, फागुन १४ गते । वर्षातको वा हिउँदको समयमा पानी परेपछि अबरुद्ध हुने कर्णाली राजमार्गका केही जोखिम क्षेत्रको मर्मत सुरु भएको छ। यात्रा सहज बनाउने उद्देश्यले राजमार्गका जोखिम सडकखण्डको मर्मत कार्य सुरु गरिएको हो।
सडक डिभिजन कार्यालय जुम्लाले कालीकोट खण्डमा पर्ने जोखिम सडकको मर्मत सुरु गरेपछि यात्रा सहज हुन थालेको यातायात व्यवसायीले बताएका छन्। गगनेखोला, कालेखोला, सेरीघाट, सुनारखोला लगायतका क्षेत्रमा रहेका जोखिम सडक खण्डमा आरसिसि गरिएपछि यात्रुलाई सहज भएको बताइएको छ।
सुर्खेतदेखि कालीकोट र जुम्ला आउँदै गरेको चालक सुर्खेत चिसापानीका अजय थापाले अब वर्षातको समयमा पनि यात्रा सहज हुने बताएका छन्। “सबैभन्दा बढी हिलो हुने र पहिरो झर्ने क्षेत्र आरसिसि भएपछि मनको त्रास हटेको छ। पहिला यात्रा गर्दा आकाशमा बादल देखिनासाथ जोखिम सडकको याद आउँथ्यो, अब त्रास छैन,” उहाँले बताउनुभयो।
राजमार्गका हिलाम्मे सडकखण्ड आरसिसि गरिएका छन् भने जिर्ण सडक कालोपत्रे भएपछि कर्णाली राजमार्गको यात्रा अझै सहज हुँदै गएको छ। बाँके खजुराका रमित सारुले तीन वर्षअघि जुम्ला जाँदा धेरै कठिनाइ भएको भए पनि यसपालि यात्रा सहज भएको बताउनुभयो।
सडक डिभिजन कार्यालयले केही पुराना ठेक्का र चालु आर्थिक वर्षको बजेट प्रयोग गरी जोखिम क्षेत्र सुधार गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले पछिल्लो समय सडक मर्मतको कामले राम्रो सुधार भईरहेको बताउनुभयो। “सबैभन्दा बढी समस्या पर्ने खण्ड पहिलो प्राथमिकतामा राखी निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयलाई सुझाव दिएका थियौं। अब ती खण्डमा मर्मत भएकोले यात्रा सहज छ र वर्षातमा पनि समस्या नहुने विश्वास छ,” सहायक प्रजिअ शर्माले बताउनुभयो।