• १४ फागुन २०८२, बिहिबार

‘भोट हाल्ने तरिका पनि सिक्न पाइँदो रहेछ’

blog

स्थानीय वृद्धवृद्धालाई मतदाता शिक्षा सिकाउँदै स्वयंसेवक। तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन १४ गते ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटका ९० वर्षीय छिन आङमो ठकुरी घरदैलोमै मतदाता शिक्षा पाएकोमा दंग हुनुहुन्छ। विगतमा आफन्तको सहयोगमा मतदान केन्द्रमा मत हाल्न जाने उहाँले यसपटक स्वयंसेवक नारायण योगीबाट मतपत्रमा स्वस्तिक छाप लगाउने, पट्याएर मतपेटिकामा खसाल्ने विधि सिकेपछि उत्साहित हुनुहुन्छ।

वृद्धा ठकुरीजस्तै ७२ वर्षीय पेम्मा गुरुङले पनि पहिलोपटक मतदाता शिक्षा पाउनुभएको छ। विगतका निर्वाचनमा गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भए पनि उहाँ शिक्षा लिनबाट वञ्चित हुनुभएको थियो। गाउँका वृद्धवृद्धाले मतदाता शिक्षासँगै निर्वाचनको महत्त्वबारे समेत बुझ्ने अवसर पाएका छन्।

झारकोटका ८८ वर्षीय छिटी मेन्दो गुरुङले भन्नुभयो, “भोट हाल्ने तरिका पनि सिक्न पाइँदो रहेछ, पहिले सिक्ने अवसर नै पाएका थिएनौँ।”

मतदाता शिक्षाका लागि वडाका कार्यालय सहायक योगीले बिहान र बेलुकाको समयमा मतदाताको घरदैलोमा पुगेर तथा समूह बनाएर सिकाउने गरेपछि वृद्धवृद्धामा उत्साह बढेको छ। स्वयंसेवक योगीले वृद्धवृद्धालाई मतदाता शिक्षासँगै नमुना मतदान अभ्याससमेत गराउँदै आउनुभएको छ, जसले मतदातालाई सहज भएको छ।

वृद्धा मतदाता पेम्माले भन्नुभयो, “मतदाता शिक्षा पाएपछि अब त एक्लै गएर भोट हाल्न सक्छु भन्ने लागेको छ। घरमै अभ्यास गर्दा मतदान केन्द्रमा गएर भोट हालेजस्तै भयो।”

मतदाता शिक्षामा खटिनुभएका योगीले निरक्षर तथा वृद्धवृद्धालाई अभ्याससहित लामो समय दिएर सिकाउने गरिएको बताउनुभयो। उहाँका अनुसार पहिलोपटक मतदान गर्ने नयाँ पुस्तालाई पनि मतदाता शिक्षासँगै परिवारलाई सिकाउन प्रेरित गरिँदै आएको छ।

स्वयंसेवक योगीले भन्नुभयो, “मतदाता शिक्षा लिएपछि मात्रै गाउँमा चुनावी चहलपहल सुरु भयो। घरदैलोमा पुग्दा मतदातामा उत्साह देखियो।”

मतदाता शिक्षामा खटिनुभएका वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का स्वयंसेवक छिरिङ घले गुरुङले मतदाता शिक्षाको पहुँच पुगेका क्षेत्रमा बदर मत घट्ने अपेक्षा गर्न सकिने बताउनुभयो।

गुरुङले भन्नुभयो, “समूहमा भन्दा एकल रूपमा सिकाउँदा मतदाताले सहज महसुस गर्नुभएको छ। पहिले हतारमा मतपत्र लिएर मतदान गर्न जानेहरूले यसपटक मतदान प्रक्रियाबारे चासो देखाउनुभएको छ।”

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले विगतमा बदर मत बढी भएका क्षेत्रमा वृद्धवृद्धाको संख्या धेरै रहेको र हतारमा मतदान गर्ने प्रवृत्तिका कारण समस्या देखिएकाले यसपटक स्वयंसेवकलाई बढी प्राविधिक ज्ञान दिइएको बताउनुभयो।

मतदाता शिक्षामार्फत मतपत्रमा स्वस्तिक छाप लगाउने तरिका, मतपत्र सही रूपमा पट्याउने विधि तथा मत बदर हुन सक्ने कारणबारे जानकारी गराइएको उहाँले बताउनुभयो। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पनि मतपत्रमा हस्ताक्षर लगायतका त्रुटी नहुने विषयमा सचेत गराइएको उहाँको भनाइ छ।

निर्वाचन अधिकारी ज्ञवालीले भन्नुभयो, “मतदाता शिक्षाका लागि खटिएका स्वयंसेवकले राम्रो काम गरिरहेका छन्। समुदायमा मतदाताले उत्साहका साथ सिकिरहेका छन्।”

जिल्ला निर्वाचन कार्यालयले थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका २५ वटै वडामा बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक सेवा केन्द्रका परिचालक गरी २५ जना मतदाता स्वयंसेवक परिचालन गरेको छ।

वि.सं. २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १० हजार ४८७ मतदाता रहेकामा ७ हजार २५९ मत खसेको थियो। त्यसमध्ये प्रत्यक्षतर्फ ८७ मत र समानुपातिकतर्फ २ मत बदर भएको थियो। हाल मुस्ताङमा ३९ मतदानस्थलमा कुल ११ हजार ३२८ मतदाता रहेका छन्।