हिले समाचारदाता
हिले, फागुन १४ गते । आगामी २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न व्यस्त भइरहँदा मतदाता स्वयंसेवक भने मतदाता शिक्षा दिन व्यस्त छन् । मतदान प्रव्रिmयालाई सहज, सरल बनाउन, बदर हुने मत घटाउनका लागि आयोगले गत ३ गतेदेखि सुरु गरेको स्वयंसेवक १७ गतेसम्म परिचालन हुने छ ।
स्वयंसेवक टोल टोल÷घर घर पुगेर मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी जानकारी दिइरहेका धनकुटा नगरपालिका–१ को स्वयंसेवक रोजिना राई बताउनुहुन्छ । विशेष गरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यावहारिक अभ्याससमेत गराइँदै आएका राईको भनाइ छ ।
अघिल्ला निर्वाचनलाई आधार मान्दा धनकुटामा पाँच प्रतिशतभन्दा बढी मत बदर हुने गरेको तथ्याङ्क छ । यो पटक त्यसलाई घटाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि स्वयंसेवक वडा वडामा खटिएका छन् । टोल टोल र घर घरमै पुगेर मतदाता शिक्षा दिइरहेका छन् । मतदाता शिक्षाका लागि धनकुटाका सात वटा स्थानीय तहका ६० वडाका लागि एक÷एक जना स्वयंसेवक खटिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । त्यस्तै स्थानीय तहमा अनुगमनका लागि निर्वाचन सम्पर्क व्यक्ति एक÷एक जना रहेका छन् । मतदाता शिक्षाका लागि स्वयंसेवकमा बालविकास सहजकर्ता वा स्वास्थ्य स्वयंसेविका वा सामाजिक परिचालकलाई तोकिएको छ । मतदाता शिक्षा कार्यव्रmम प्रभावकारी भएको धनकुटा नगरपालिका–१ का मतदाता गणेशबहादुर विश्वकर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले पहिले धेरै मतपत्र र धेरैलाई हाल्नुपर्नु हुँदा पहिलेकै जसरी नै हाल्ने हो कि भन्ने लागेको थियो तर यो पटक फरक रहेछ ।”
धनकुटामा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा ३.९१ प्रतिशत मत बदर भएको थियो । यस्तै समानुपातिकतर्फ ५.५५ प्रतिशत मत बदर भएको थियो । गठबन्धनका कारण मतदाता चुनाव चिह्नमा अलमलिँदा तथा धेरै चुनाव चिह्न भएका कारण बढी तथा धेरैलाई मत हाल्नुपर्ने अवस्थाका कारण बढी मत बदर हुने गरेको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठ बताउनुहुन्छ तर यो पटक त्यो अवस्था नरहेकाले बदर मतको प्रतिशत घट्ने अनुमान रहेको श्रेष्ठको भनाइ छ ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा यो निर्वाचनमा एक लाख १८ हजार ४२५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् । यो निर्वाचनमा १५ दलगत र दुई स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।