• १४ फागुन २०८२, बिहिबार

सर्वपक्षीय बैठक

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, फागुन १४ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई शान्तिपूर्ण तरिकाले भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठकको आयोजना गरी सातबुँदे निर्णय गरेको छ । सो बैठकले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा विशेष जोड दिँदै होली र रमजान दुवै पर्वलाई मर्यादित तरिकाले मनाउनेलगायतका महत्वपूर्ण निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो । 

उहाँका अनुसार सर्वपक्षीय बैठकले यस वर्ष तराई क्षेत्रमा मनाइने होलीपर्व फागुन १९ गते पर्ने र सो समयमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भइसकेको सन्दर्भलाई ध्यानमा राख्दै घरपरिवार र आफन्तजनबिच मर्यादित रूपमा होली मनाउन स्थानीय बासिन्दासँग आग्रह गर्ने निर्णय गरेको छ । 

त्यसै गरी पर्व मनाउँदा तथा पर्व अन्तर्गतका गतिविधिको सन्देश प्रवाह गर्दा विगतका दिनमा भएका सर्वपक्षीय बैठकको निर्णय अनुसार कायम गरिएको सद्भावलाई निरन्तरता दिन र ध्वनि प्रदूषण नगर्न तथा नगराउन स्थानीय प्रशासनमार्फत आग्रह गर्ने निर्णय भएको छ । फागुनमा हिन्दु परम्परा अनुसार विवाह तथा व्रतबन्धका कार्यक्रम बढी हुने भएकाले त्यस्ता कार्यक्रम आयोजना गर्दा पनि ध्वनि प्रदूषण हुन नदिन सबैलाई सचेत गराउने निर्णय गरिएको छ । त्यसै गरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्न लगाउने प्रतिबद्धता बैठकले जनाएको छ ।

जिल्लाको विशिष्टतालाई दृष्टिगत गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, सरोकारवाला निकाय र स्थानीय तहलाई जिम्मेवार भूमिका निर्वाह गर्न तथा आवश्यक परे स्थानीय तहमा समेत सर्वदलीय बैठक आयोजना गरी सद्भाव कायम राख्न आग्रह गरिने निर्णय गरिएको छ ।