इमानसिं राना
रामपुर (पाल्पा), फागुन १४ गते । पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार सन्दीप रानाले पाल्पा–१ लाई देशकै नमुना संसदीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ। पर्यटन प्रवर्धन तथा विकासमार्फत क्षेत्रलाई नमुना संसदीय क्षेत्र बनाउने उहाँको योजना रहेको छ।
रामपुर नगरपालिका क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमार्फत रानाले आफ्नो सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको हो। नेपाली कांग्रेस क्षेत्र नं. १, पाल्पाको प्रतिज्ञापत्रसहित प्रस्तुत सङ्कल्पपत्रमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, ऊर्जा, पर्यटन तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
रानाले भन्नुभयो, “देशभर १६५ निर्वाचन क्षेत्र रहेका छन्। म सांसद भएको खण्डमा पाल्पा–१ लाई नेपालकै नमुना संसदीय क्षेत्र बनाउनेछु।” उहाँका अनुसार क्षेत्रको समृद्धिका लागि पर्यटन महत्वपूर्ण आधार हुने बताउँदै वैदिक स्मार्ट सिटी, गौरव पर्यटन र सांस्कृतिक पर्यटनका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।
वैदिक ग्रन्थ तथा पुराणमा उल्लेखित कालीगण्डकी उपत्यका क्षेत्रलाई वैदिक स्मार्ट सिटी, ऐतिहासिक कोट तथा गढीहरूलाई समेटेर गौरव पर्यटन तथा दक्षिणी भेगका आदिवासी जनजाति समुदाय बसोबास गर्ने क्षेत्रलाई सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो।
पर्यटन क्षेत्रको विकाससँगै आवश्यक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र खेलकुद क्षेत्रको विकास गरिने उहाँको भनाइ छ। पर्यटनमार्फत स्वरोजगारको अवसर सिर्जना गर्दै स्वदेश तथा विदेशमा सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्ने वातावरण बनाइने रानाले बताउनुभयो।
गाउँका उर्वर जमिन बाँझै राखेर सहरतर्फ बसाइँ सर्ने क्रम बढेकाले ‘आदर्श गाउँ’ अवधारणा अघि सारिएको उहाँले उल्लेख गर्नुभयो। “आदर्श गाउँ, जहाँ सर्वाङ्गीण विकासका सबै सुविधा हुनेछन्,” उहाँले भन्नुभयो।
पूर्वी क्षेत्रका नागरिकका लागि महत्वपूर्ण मानिएको आर्यभञ्ज्याङ–हुमिन–ताहुँ–बिरकोट–जब्दी–बेलडाँडा–रामपुर सडक स्तरोन्नति गर्ने तथा पहाड र तराई जोड्ने अरुणखोला–मित्याल–रामपुर सडकलाई द्रुतमार्गका रूपमा विकास गर्ने योजना उहाँले सुनाउनुभयो।
यसैगरी कालीगण्डकी करिडोरसँग जोड्ने रिङरोड निर्माण तथा पाँच वर्षभित्र पाल्पाका सबै स्थानमा केन्द्रीय विद्युत् लाइन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको स्तरवृद्धिसँगै भ्रष्टाचार अन्त्यका लागि आवाज उठाउने, पारदर्शी प्रशासन निर्माण गर्ने तथा रोजगारी सिर्जना गर्ने योजना सङ्कल्पपत्रमा समेटिएको उहाँले बताउनुभयो। युवा स्टार्टअप कार्यक्रममार्फत परियोजनाको आधारमा १५ लाख रुपियाँसम्म विनाधितो ऋण उपलब्ध गराउने नीति ल्याउने योजना पनि रहेको छ।
एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई सहयोग गर्ने तथा कक्षा १२ सम्म निःशुल्क शिक्षाको पहल गर्ने उहाँले बताउनुभयो। साथै कालीगण्डकी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको आईटी कलेज स्थापना गर्ने, स्थानीय अस्पताललाई आधुनिक प्रविधियुक्त बनाउने र रामपुर अस्पताललाई ट्रमा सेन्टर तथा जलन उपचार केन्द्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभयो।
फरक प्रसङ्गमा रानाले कालीगण्डकी डाइभर्सन योजना कुनै पनि हालतमा सफल हुन नदिने बताउनुभयो। उक्त परियोजनाले क्षेत्रको पर्यावरणमा नकारात्मक असर पार्ने उहाँको भनाइ छ।
चुनाव जितेपछि नेता फर्किंदैनन् भन्ने गुनासो सम्बोधन गर्न ‘मेरो सांसद्, मेरो अधिकार’ कार्यक्रमअन्तर्गत प्रत्येक पालिकामा नागरिक–सांसद संवाद केन्द्र स्थापना गर्ने योजना रहेको उहाँले बताउनुभयो। नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार कृष्णप्रसाद अधिकारीले जनताको परिवर्तनको चाहनाअनुसार कांग्रेस विजयी हुने विश्वास व्यक्त गर्नुभयो।