सल्यान समाचारदाता
सल्यान, फागुन १४ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा निर्वाचन सामग्री सुरक्षित रूपमा वितरण भइसकेको छ । निर्वाचन आयोगले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
कर्णाली प्रदेशका सबै जिल्ला निर्वाचन कार्यालयमा आवश्यक मतपत्र, मतपेटिका, मतदान अधिकृतका सामग्री तथा अन्य प्राविधिक सामग्री सुरक्षित रूपमा पुगेका छन् । सबै मतदान केन्द्रका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको र गुणस्तर सुनिश्चित गरी मतदान प्रक्रिया सहज तथा व्यवस्थित बनाउन आवश्यक प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।
निर्वाचन आयोग कर्णाली प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले १० वटै जिल्लामा आवश्यक निर्वाचन सामग्री पुगिसकेको र निर्वाचनको आवश्यक तयारी गरिएको बताउनुभयो । उहाँले सुरक्षासहित निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशभर ९४१ मतदान स्थल र एक हजार १३७ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधि सभाका १२ सिटका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १३४ जना चुनावी मैदानमा छन् । यस पटक कर्णाली प्रदेशबाट कुल १० लाख ३७ हजार २५० मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नौ लाख आठ हजार ४३३ मतदाता रहेका थिए । यस वर्ष एक लाख २८ हजार ८१७ मतदाता थपिएसँगै कुल मतदाता सङ्ख्या १० लाख ३७ हजार २५० पुगेको हो । सुरक्षाव्यवस्थालाई विशेष प्राथमिकतामा राखिएको छ । संयुक्त सुरक्षा गस्ती, मतदान केन्द्रको स्थलगत निरीक्षण तथा संवेदनशील क्षेत्रको पहिचान गरी आवश्यक रणनीति लागु गरिएको जनाइएको छ । जिल्ला जिल्लामा निर्वाचन सामग्री तयारी, मतदानमा खटिने कर्मचारीलाई अभिमुखीकरण तथा सुरक्षा व्यवस्थापनका काम तीव्र रूपमा अघि बढाइएको छ । सल्यानका मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । निर्वाचन तयारी पूरा भइसकेको अवस्थामा आयोगले सबै मतदातालाई शान्तिपूर्ण तथा मर्यादित रूपमा मतदानमा सहभागी हुन आह्वान गरेको छ ।