• १४ फागुन २०८२, बिहिबार

मुक्तिधाम माविमा पढाइसँगै कृषि उत्पादन

blog

विद्यार्थीले सामूहिक रुपमा उत्पादन गरेको कृषि उपज । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, फागुन १४ गते ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीस्थित मुक्तिधाम माध्यमिक विद्यालयका विद्यार्थीले पढाइसँगै व्यवहारिक अभ्यासलाई जोड्दै विद्यालय परिसरमै सामूहिक तरकारी खेती सुरु गरेका छन् ।

प्राविधिक धारतर्फ कृषि बाली विज्ञान विषय अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले टमाटर र च्याउ उत्पादन गरी सिकाइलाई व्यवहारमा उतार्दै आम्दानीसमेत गर्न थालेका छन् ।   

कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपमा दक्ष बनाउने उद्देश्यले विद्यालय परिसरमै तरकारी खेती सुरु गरिएको विद्यालयका कृषि प्रशिक्षक तथा कृषि संयोजक प्रभात सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीले अहिले टमाटर, कन्य (पराले) च्याउ र काठे च्याउ उत्पादन गरिरहेका छन् । विद्यार्थीले उत्पादन गरेको कृषि उत्पादन बिक्री गरेर आम्दानी समेत भएको उहाँको भनाइ छ ।

यस वर्ष विद्यार्थीले हालसम्म करिब दुई क्विन्टल गोलभेडा र ९० केजी काठे च्याउ उत्पादन गरिसकेका छन् भने गत वर्ष १२० केजी कन्य च्याउ उत्पादन भएको थियो । उत्पादन भएको तरकारी बिक्रीबाट आएको आम्दानीमध्ये केही रकम विद्यालयको कोषमा जम्मा गरिने र केही रकम विद्यार्थीलाई प्रोत्साहन स्वरुप वितरण गर्ने गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीले गरिरहेको परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले तरकारी खेती गर्न सिकाइएको विद्यालयले जनाएको छ । घरमा बाबाआमाले गर्ने तरकारी खेतीलाई पनि हामीले आधुनिकरण गरेर उत्पादन बढाउन विद्यालयको सिकाईले मद्दत दिएको विद्यार्थी रेजिना भण्डारीको बताउनुभयो ।  

पछिल्लो समय सामुदायिक विद्यालयमा प्राविधिक विषयको अध्ययनप्रति आकर्षण बढ्दै गएको छ । विद्यालय परिसरमै गरिएको तरकारी खेतीले विद्यार्थीमा आत्मनिर्भरता, श्रमप्रतिको सम्मान र उद्यमशील सोच विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको अभिभावकहरुको भनाइ छ ।