• १४ फागुन २०८२, बिहिबार

महिलाको नेतृत्वमा नमुना मतदान केन्द्र सञ्चालन

blog

मतदान अधिकृतमा नियुक्त सिर्जना रेग्मी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन १४ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँको एक मतदान केन्द्रलाई पूर्ण रूपमा महिला कर्मचारीको नेतृत्वमा ‘नमुना केन्द्र’ का रूपमा सञ्चालन गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाम दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ‘ख’ मतदान केन्द्रलाई नमुनाका रूपमा विकास गर्दै सम्पूर्ण जनशक्ति महिलाबाट परिचालन गर्ने निर्णय गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालका अनुसार, यस नमुना केन्द्रको नेतृत्व जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सिर्जना रेग्मीले सम्हाल्नुहुनेछ । ९८० जना मतदाता रहेको यस केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मी समेत सबै महिला मात्र रहने व्यवस्था मिलाइएको छ । मतदान प्रक्रियालाई थप व्यवस्थित, मर्यादित र नमुना बनाउने उद्देश्यले जिल्लाभरका ३११ केन्द्रमध्ये यसलाई विशेष रूपमा छनोट गरिएको कार्यालयले जनाएको छ ।

नमुना केन्द्रका प्रमुख रेग्मीले आफूलाई दिइएको जिम्मेवारीलाई निष्पक्ष र प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँको टोलीमा सहायक मतदान अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालयकी नायब सुब्बा राधा भण्डारी रहनुहुनेछ भने सहायक कर्मचारीहरूमा मिनाकुमारी थापा, सरीता ढकाल र रामकला पन्थ तथा सहयोगीमा मञ्जु थापा खटिनुहुनेछ । मतदान केन्द्रको आन्तरिक व्यवस्थापनदेखि सुरक्षाको कमान्डसम्म महिलाले नै सम्हाल्ने गरी तयारी पूरा गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी डोलराम शर्माका अनुसार, निर्वाचनका लागि आवश्यक मतपत्र र अन्य सामग्रीहरू सुरक्षित रूपमा जिल्लामा प्राप्त भइसकेका छन् । यसपटक तनहुँमा कुल दुई लाख ५४ हजार ३९७ मतदाता रहेका छन् भने १४४ मतदान स्थल र ३०९ स्थायी मतदान केन्द्र तोकिएका छन् ।