• १४ फागुन २०८२, बिहिबार

खुटी नहर सञ्चालन गर्न किसानको माग

blog

खुटी नहर सञ्चालनका लागि आठ करोड ७२ लाख लागतमा निर्माण गरिएको हेडवक्र्स। तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, फागुन १४ गते ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नं. १ का किसानहरूले ऐतिहासिक खुटी नहर सञ्चालन गरिने विश्वसनीय प्रतिबद्धताको माग गरेका छन्।

खुटी नहर सञ्चालनमा आए दक्षिणी भेगका ९३५ बिघा जग्गामा सिँचाइ पुग्ने लक्ष्यसहित लहान नगरपालिका–१० मा हेडवक्र्स निर्माण कार्य सम्पन्न भएको छ। बाँकी काम सम्पन्न गर्न घरदैलोमा आउने उम्मेदवारहरूसँग किसान मतदाताले विश्वसनीय प्रतिबद्धताको माग गरिरहेका छन्।

पटक–पटक प्रतिबद्धता गरिए पनि कहिल्यै पूरा नभएकाले खुटी नहर सञ्चालनका लागि यसपटक विश्वसनीय प्रतिबद्धता आवश्यक रहेको लहान नगरपालिका–२३ का रामविलास यादवले बताउनुभयो। रामविलास यादवजस्तै लहान नगरपालिका–२, ३, ११, १२, १९, २०, २१, २२ र २३ तथा सखुवानन्कारकट्टी गाउँपालिका र भगवानपुर गाउँपालिकाका किसानहरूले पनि उम्मेदवारसँग खुटी नहर सञ्चालनका लागि प्रतिबद्धता माग गरिरहेका छन्।

राणाकालीन प्रधानमन्त्री ८८चन्द्र शमशेर जंगबहादुर राणा ८८ को पालामा तटबन्ध निर्माण गरी सञ्चालन गरिएको खुटी नहर अलपत्र परेपछि बदलिँदो समयअनुसार आधुनिकीकरण गरेर सञ्चालन गर्नुपर्ने माग २०४६ सालयता हरेक निर्वाचनमा उठ्दै आएको छ।

हरेक दलले किसानको माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म खेतमा सिँचाइका लागि पानी नपुगेकाले यसपटक विश्वसनीय प्रतिबद्धता खोजिएको लहान–२१ का भोरिल यादवले बताउनुभयो।

चार वर्षअघि लहान नगरपालिकाका पूर्वनगरप्रमुख मुनि साहको कार्यकालमा मधेश प्रदेशको सिँचाइ डिभिजन कार्यालयको पहलमा आठ करोड ७२ लाख रुपियाँ लागतमा लहान–१० मा नहरको पानी निकाल्न हेडवक्र्स निर्माण गरिएको थियो। हेडवक्र्स निर्माण भए पनि पुरानो नहर मर्मत र निकास व्यवस्थापनका लागि अझै ठूलो लगानी आवश्यक रहेको र यसतर्फ पर्याप्त पहल नभएकाले खुटी नहर सञ्चालनका लागि गत वर्ष छ महिनासम्म आन्दोलन गर्नुपरेको खुटी नहर संघर्ष समितिका संयोजक धर्मराज चौधरीले बताउनुभयो।

लहानको सहरी क्षेत्रबाट बग्ने नहरलाई ड्रेनका रूपमा प्रयोग गर्न ह्युमपाइप राखी फोहोर निकासी गर्ने उद्देश्यले करिब आठ करोड रुपियाँमा नगरपालिकाले ठेक्का आह्वान गरेपछि दक्षिण भेगका किसानहरूले विरोध गरेका थिए। त्यसपछि नगरपालिकाले उक्त योजना फिर्ता लिएको थियो।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा खुटी नहर सञ्चालन गर्ने प्रतिबद्धता विभिन्न दलका उम्मेदवारहरूको घोषणापत्रमा प्राथमिकताका साथ समेटिएको छ। उम्मेदवारहरूले सहरी क्षेत्रको सौन्दर्यीकरण र ग्रामीण क्षेत्रका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर सञ्चालन गर्ने बताएका छन्।

तर विगतका अनुभवका कारण अहिले किसानहरूले ठोस र विश्वसनीय आधार खोजिरहेको किसान अगुवा घुरन यादवले बताउनुभयो।