नवराज नेपाली
बागलुङ (गलकोट) फागुन १४ गते । बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार बुझाइएका छन् । निर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार नबुझाए हतियारको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने भएको छ । बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार बुझाइएका छन् ।
जिल्लामा अझै ८३ थान हातहतियार बुझाउन बाँकी रहेकाले अटेरी गर्नेको लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले फागुन २१ गते हुने प्रतिनिभिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निजी हातहतियार बुझाउन आग्रह गरेअनुसार अहिलेसम्म ५९ थान हातहतियार जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको छ ।
बागलुङमा दर्तावाला मात्रै १४२ हतियार रहेका छन् । निर्वाचनको समयमा हुनसक्ने उच्छृङ्खल गतिविधि रोक्ने र शान्ति सुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएकामा अहिलेसम्म ५९ थान लाइसेन्स प्राप्त भरुवा, ‘सट गन’ लगायत हतियार प्राप्त भएको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रजिअ आचार्यका अनुसार निर्वाचन अघिसम्म हतियार बुझाउन पाइनेछ । समयमा नबुझाएका हतियार निर्वाचनमा फेला परेमा लाइसेन्स रद्द गरिने पनि बताउनुभयो ।
निर्वाचनलाई मध्यनजर गर्दै गत माघ ८ गते बसको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लाभित्र विभिन्न व्यक्ति तथा समूहको नाममा रहेका सबै प्रकारका इजाजत प्राप्त हातहतियार र सोको खरखजाना बुझाउन सूचना जारी गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचन लक्षित गरी चलाएको ‘सर्च अप्रेशन’मा ११५ थान अवैध हातहतियार बरामद गरेको थियो । एक सय १५ थान हतियार अवैध रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।