• १३ फागुन २०८२, बुधबार

झापा क्षेत्र नं. ४ मा चुनावी सरगर्मी: पुराना प्रतिस्पर्धी र नयाँ शक्तिबिच कडा टक्कर

blog

झापा क्षेत्र नम्बर ४ का उम्मेदवार ।

लीलाराज खड्का

बिर्तामोड, फागुन १३ गते । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ।

कनकाई नगरपालिकाका १ देखि ७ नम्बर वडा, शिवसताक्षी नगरपालिकाका सबै ११ वडा, झापा गाउँपालिकाका ७ वडा, गौरादहका ९ र गौरीगन्ज गाउँपालिकाका १ र २ नम्बर वडा गरी कुल २८ वडा समेटिएको यस क्षेत्रमा १ लाख ३० हजार ७ सय १२ मतदाता रहेका छन् । यसपटक एक स्वतन्त्रसहित १६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

विगतका दुई निर्वाचन (२०७४ र २०७९) मा नेकपा (एमाले) का लालप्रसाद साँबाले नेपाली कांग्रेसका देउकुमार थेबेलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो। यसपटक पुनः एमालेले साँबा र कांग्रेसले थेबेलाई नै उम्मेदवार बनाएपछि यो क्षेत्रको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। अझ २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कोशी प्रदेशमै सर्वाधिक मत ल्याउनुभएका शम्भुप्रसाद ढकाल पुनः चुनावी मैदानमा होमिएपछि प्रतिस्पर्धा त्रिपक्षीय हुने आकलन गरिएको छ। एमाले उम्मेदवार साँबा जितको 'ह्याट्रिक' गर्ने दाउमा हुनुहुन्छ भने कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका थेबे उहाँलाई रोक्ने रणनीतिमा हुनुहुन्छ।

२०७९ सालको निर्वाचनमा एमालेका लालप्रसाद साँबा (एलपी) ले २९ हजार ३ सय १५ मत ल्याउँदा कांग्रेसका देउकुमार थेबेले २२ हजार ४४८ मत प्राप्त गर्नुभएको थियो। रास्वपाका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत ल्याउनुभएको थियो। त्यसबेला नेकपा (माओवादी केन्द्र) र राप्रपाले उम्मेदवारी नदिए पनि समानुपातिकतर्फ माओवादीले ६ हजार ४६५ र राप्रपाले ६ हजार ४१५ मत पाएका थिए।

यसपटक समीकरण फेरिएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दल सम्मिलित गठबन्धनबाट पुरुषोत्तम चुडाल (राजु) र राप्रपाबाट प्रदेश सांसद पदबाट राजीनामा दिएर भक्तिप्रसाद सिटौला चुनावी मैदानमा हुनुहुन्छ। उम्मेदवारहरू जग्गाधनी पुर्जा वितरण, शिक्षा, स्वास्थ्य, रोजगारी र यस क्षेत्रको मुख्य समस्याका रूपमा रहेको कनकाई, विरिङ तथा बनियानी नदी कटान नियन्त्रणका एजेन्डा लिएर घरदैलोमा व्यस्त छन्। रास्वपाका उम्मेदवारले त आफ्ना प्रतिबद्धता पूरा नगरे ठगी मुद्दा हाल्न मतदातालाई चुनौती समेत दिनुभएको छ।

यसैगरी, श्रम संस्कृति पार्टीबाट अमृता राई, मङ्गोल नेसनल अर्गनाइजेसनबाट दिलीप धिमाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बू लगायतका उम्मेदवार पनि प्रतिस्पर्धामा हुनुहुन्छ।