अमेरिका, फागुन १३ गते । भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा बसोवास गर्दै आएका एक जना नेपालीले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् । उनले सोमबार बिहान मासु काट्ने धारिलो छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले हातमा छुरा लिएका उनलाई छुरा तल राख्न निर्देशन दिँदा पनि अटेर गरेका कारण प्रहरीले चलाएको गोली लागि उनको पनि मृत्यु भएको छ ।
मृतकहरूमा अभियुक्त ५० वर्षीय क्षेत्रबहादुर थापा, उहाँकी श्रीमती ५० वर्षीया विन्दा थापा र ३१ वर्षीय छोरी ममता थापा रहनुभएको छ । घाइते ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत रहेको प्रहरीले जनाएको छ । थापा परिवार नेपालको बेलका नगरपालिका उदयपुरको र उहाँकी छोरी भने विराटनगरका भएको बताइएको छ ।
फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार, थापाले श्रीमती र छोरीको हत्यापछि ज्वाइँ सन्तोषको पनि हत्या प्रयास गरेका थिए, तर ज्वाइँ सन्तोष भने बाँच्न सफल हुनुभएको छ । गम्भीर घाइते हुनुभएको उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाहिर हिउँ सफा गरिरहेका बखत घरभित्रबाट चिच्याहटको आवाज सुनेपछि उहाँ घरभित्र पुग्दा सासू र श्रीमतीमाथि धारिलो छुरा प्रहार भइसकेको थियो । ज्वाइँले नै ९११ मा फोन गरेर प्रहरीलाई खबर गर्नुभएको थियो । छोरीको घटनास्थलमा नै र श्रीमतीको उपचारका क्रममा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख केभिन डेभिडका अनुसार, धारिलो छुरा प्रहारबाट सख्त घाइते भएका ज्वाइँ सन्तोषको अस्पतालमा शल्यक्रिया सम्पन्न भइसकेको छ । सन्तोष र ममताका एक वर्षीय छोरा भने सकुशल रहेको उहाँले जानकारी दिनुभयो ।
यो भयावह घटनाले भर्जिनियास्थित नेपाली समुदाय आतङ्कित भएको छ । पारिवारिक सूत्रका अनुसार, थापा छोरी ममताको घरमा बसोवास गर्दै आउनुभएको थियो । उहाँले गत वर्ष मात्र ग्रिनकार्ड प्राप्त गर्नुएको थियो । पारिवारिक सूत्रका अनुसार अभियुक्त थापा मानसिक रोगी भएको र औषधी सेवन गरिरहनुभएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।