• १३ फागुन २०८२, बुधबार

नवलपरासी–१ की महिला उम्मेदवार जलेसा घरदैलोमा व्यस्त

blog

उम्मेदवार सिन्धु ‘जलेसा’ बुढाथोकी ।

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, फागुन १३ गते ।
पश्चिम नवलपरासीको चुनावी मैदान यस पटक रोचक मोडमा पुगेको छ। जिल्लाका स्थापित शीर्ष राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सिन्धु ‘जलेसा’ बुढाथोकी भने सशक्त रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ।

पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ बाट एक मात्र महीला  उम्मेदवार बुढाथोकी अहिले आफ्नो एजेन्डासहित जनताको घरदैलोमा पुग्नुभएको छ। शीर्ष दलहरूबाट प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्यजस्तै रहेको यस क्षेत्रमा उहाँको उपस्थिति र सक्रियताले मतदाताहरूको ध्यान खिचेको छ।

लामो समयदेखि बामपन्थी राजनीतिमा सक्रिय रहँदै आउनुभएकी बुढाथोकी अनुभवी नेतृ हुनुहुन्छ। उहाँ यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा (एमाले) बाट समानुपातिक सांसद समेत रहिसक्नुभएको छ। संसदीय अभ्यासको अनुभव र वामपन्थी वैचारिक स्पष्टता भएका कारण उहाँलाई यस क्षेत्रमा एक सशक्त उम्मेदवारका रूपमा हेरिएको छ।

विगतको निर्वाचन (२०७९) मा तत्कालीन माओवादी केन्द्रले नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका कारण यस क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको थिएन। तर, यस पटकको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिन्धु ‘जलेसा’ बुढाथोकी मैदानमा उत्रिएपछि वामपन्थी मत र महिला मतदाताहरूमा नयाँ उत्साह देखिएको छ।

निर्वाचन नजिकिँदै गर्दा बुढाथोकीले आफ्नो निर्वाचन क्षेत्रका टोल–टोलमा पुगेर जनताका समस्या सुन्ने र आफ्नो योजना सुनाउने कार्यलाई तीव्रता दिनुभएको छ। “जनताले परिवर्तन र विकास चाहेका छन्, र महिलाको नेतृत्वलाई पनि अब प्रत्यक्ष निर्वाचनमा अनुमोदन गर्ने बेला आएको छ, “उहाँले घरदैलोका क्रममा बताउनुभयो।

क्षेत्र नम्बर १ मा कुल ११ स्वतन्त्रसहित २६ जना चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा कुल दुई लाख ५४ हजार १५७ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ८० जना मतदाता छन् ।