काठमाडौँ, फागुन १३ गते । सन् १९२५ देखि सञ्चालनमा आएको नेपालको निजी क्षेत्रको पहिलो औषधी उद्योग आरोग्य भवन वक्र्स प्रालिले विश्व स्वास्थ्य संगठनद्वारा निर्दिष्ट डब्लुएचओ जीएमपी तथा नेशनल जीएमपी प्रमाणीकरण प्राप्त गरेको छ ।
औषधी व्यवस्था विभागले उक्त कम्पनीलाई आधिकारिक विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको जिएमपी प्रमाणपत्र प्रदान गरेको हो ।
प्रमाणीकरण पत्रअनुसार कम्पनीले उत्पादन, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन प्रणालीसम्बन्धी सबै आवश्यक मापदण्ड सफलतापूर्वक पूरा गरेको पुष्टि भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका मा अवस्थित अत्याधुनिक उत्पादन प्लान्ट तथा टोखा–४ धापासीस्थित कर्पोरेट कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । कम्पनीले सन् १९२५ देखि नेपाली औषधी उत्पादन क्षेत्रमा योगदान दिँदै आएको ।
कम्पनीका प्रबन्ध निर्देशक सुमन पाण्डेले जिएमपी प्रमाणीकरण संस्थागत सुधार, प्रविधिमा गरिएको निरन्तर लगानी र कडा गुणस्तर अनुगमनको परिणाम भएको बताउनुभयो ।
उहाँले जिएमपी प्राप्त प्रमाणीकरणले आरोग्य भवनको गुणस्तर प्रणाली अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भएको स्पष्ट पारेको बताउनुभयो । उहाँका अनुसार यो उपलब्धि समर्पित टोलीको परिश्रम, अत्याधुनिक प्रविधिको प्रयोग तथा बिरामी सुरक्षाप्रतिको प्रतिबद्धताको प्रतिफल हो। उहाँले यसले नेपाली औषधीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्रयासलाई थप बल पुगेको उल्लेख गर्नुभयो । उहाँले यो सफलता समग्र नेपाली आयुर्वेद औषधी उद्योगकै लागि गौरवको विषय भएको र यसले उद्योगीहरूलाई जीएमपी मापदण्डतर्फ उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रमाणीकरणपछि उत्पादन क्षमता विस्तार, अनुसन्धान तथा विकासमा थप लगानी र निर्यात सम्भावना बढाउने योजना अघि बढाइएको जानकारी दिनुभयो ।
स्थापनाकालदेखि नै गुणस्तरमा सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको कम्पनीले डब्लुएचओ जीएमपी प्रमाणीकरणसँगै नेपाली उपभोक्ताले अझ सुरक्षित, प्रभावकारी तथा सुलभ मूल्यका औषधी स्वदेशमै प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
निजी क्षेत्रबाट औषधि उत्पादन सुरु गर्ने अग्रणी संस्थाको रूपमा आरोग्य भवनको यो उपलब्धिले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउने राष्ट्रिय लक्ष्यमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।