• १३ फागुन २०८२, बुधबार

यातायात व्यवस्था कार्यालयद्वारा दस करोड बढी राजस्व सङ्कलन

blog

यातयात व्यवस्था कार्यालय, तनहुँको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन १३ गते ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित यातायात व्यवस्था कार्यालय, तनहुँले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १० करोड १७ लाख ८७ हजार २८० रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकबाट सो रकम सङ्कलन गरेको हो ।

कार्यालयका निमित्त प्रमुख गोपाल ओलीका अनुसार सङ्कलित राजस्वमध्ये सबैभन्दा ठुलो हिस्सा सवारी साधन करको रहेको छ । यस शीर्षकमा सात करोड ७० लाख ५६ हजार १५५ रुपियाँ सङ्कलन भएको छ । यस्तै, सवारी चालक अनुमति पत्र (लाइसेन्स) दस्तुर बापत एक करोड ६९ लाख ५८ हजार ७५० रुपियाँ, यातायात क्षेत्रको आम्दानीबाट ३८ लाख ५१ हजार ४०० रुपियाँ, सवारी आयकरबाट ३५ लाख ९० हजार ६७५ रुपियाँ र अन्य प्रशासनिक सेवा शुल्कबाट तीन लाख २९ हजार ३०० रुपियाँ राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा केही गिरावट आएको छ । निमित्त प्रमुख ओलीले देशमा भएका विभिन्न आन्दोलन र राजनीतिक प्रभावका कारण राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो। यसका साथै गण्डकी प्रदेश सरकारले साउनदेखि कात्तिक महिनासम्म नवीकरण गर्न नआएका सेवाग्राहीलाई करमा छुट दिने नीति लिएका कारण पनि लक्ष्य अनुसारको राजस्व उठ्न नसकेको उहाँको भनाइ छ ।

यसैबिच, कार्यालयले सवारी चालक अनुमति पत्र वितरणको अवस्थाबारे पनि जानकारी दिएको छ । गत वर्ष प्राप्त भएका नौ हजार ५०० लाइसेन्समध्ये सन् २०२३ सम्मका ९० प्रतिशत कार्ड वितरण भइसकेका छन् । तर पछिल्लो दुई वर्षको लाइसेन्स छपाइ भएर नआउँदा वितरणमा समस्या परेको कार्यालयले जनाएको छ । सो कार्यालयबाट वार्षिक रूपमा १५ हजारभन्दा बढी नयाँ सवारी चालक अनुमति पत्र जारी हुने गरेको छ ।