काठमाडौँ, फागुन १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा प्रवेश गर्नु समयको माग भएको बताउनुभएको छ । गोरखापत्र संस्थानको डिजिटल प्रकाशन (गोरखापत्र अनलाइन र दी राइजिङ नेपाल डेली डटकम) को २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘गोरखापत्रजस्तो १२५ वर्षको इतिहास बोकेको संस्थान डिजिटल युगमा प्रवेश गर्नु र ‘डिजिटल डे’ मनाउनु आवश्यक छ’, कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले भन्नुभयो, ‘डिजिटल युगमा प्रवेश गर्नु समय सान्दर्भिक र समयको माग हो ।’
उहाँले अब हामीले विश्व परिवेशलाई हेरेर अगाडि बढ्नुपर्ने र नयाँ प्रविधि अनुसार गोरखापत्र अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सयम अनुसार नागरिकलाई भ्रमबाट सचेत बनाउन सामाजिक सञ्जाल प्रयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले गोरखपत्रको भौतिक पूर्वाधारका लागि बहुवर्षीय योजना आवश्यक रहेकोमा जोड दिनुभएको छ । सचिव बस्नेतले संस्थानलाई प्रविधिमैत्री बनाउन र संस्थानका समस्या समाधानका लागि मन्त्रालयले सहजीकरण गर्ने आश्वासनसमेत दिनुभएको छ । अहिले बजेट निर्माणको क्रम चलिरहेको भन्दै उहाँले आवश्यकताका विषयमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्नसमेत अनुरोध गर्नुभएको छ ।
छिटो र प्रभावकारी माध्यम नै डिजिटल : अध्यक्ष भण्डारी
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी (अखण्ड) ले छिटो र प्रभावकारी माध्यम नै डिजिटल भएकाले यसलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनलाइनलाई प्रभावकारी बनाउन व्यवस्थापनले तिव्रता दिने प्रष्ट पार्नुभयो ।

अध्यक्ष भण्डारीले भन्नुभयो, ‘गोरखापत्र छापाको इतिहास फरक छ । अब डिजिटल माध्यमलाई शक्तिशाली बनाएर अगाडि बढ्नुपर्छ । डिजिटल आम्दानी बढाउने विषयमा व्यापारको ध्यान अनलाइनमा केन्द्रित हुनुपर्छ । समयको माग अनुसार डिजिटल माध्यमलाई परिष्कृत गर्नुपर्छ किनकी अबको छिटो र प्रभावकारी माध्यम नै डिजिटल हो ।’
गोरखापत्र राज्यको सञ्चारगृह बन्नुपर्छ : महाप्रबन्धक ऐरी
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र राष्ट्रको सञ्चारगृह बन्नुपर्नेमा जोड दिनुभयो ।
‘नीतिगत रूपमा अनलाइनलाई डिजिटल विभागका रूपमा अगाडि बढाएका छौँ’, महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘गोरखापत्र राज्यको मिडिया हुनेगरी ऐन संशोधनका लागि मन्त्रालयमा प्रक्रिया अगाडि बढेको छ । गोरखापत्रलाई राज्यको सञ्चार गृह बनाउनुपर्छ ।’

महाप्रबन्धक ऐरीले डिजिटल माध्यमलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो । ‘हामी निजी अनलाइनभन्दा पछाडि छैनौं । पत्रकारिताको आयाम बदलिएको अवस्थामा प्रतिस्पर्धी छौँ’, उहाँले भन्नुभयो, ‘गोरखापत्र अनलाइन र दी राइजिङ नेपाल डेली डटकम थप व्यवस्थित बन्दै गएका छन् ।’
समयअनुसार अनलाइनको मूल्य बढेको बताउनुहुँदै उहाँले पछिल्लो समय प्रविधिको उपयोग गरेर अनलाइनका सामग्री व्यक्तिको मोबाइलसम्म पुगेको जानकारी गराउनुभयो । कार्यक्रममा उहाँले संस्थानको स्थापनादेखि अहिलेसम्मको संक्षिप्त विवरण प्रस्तुत गर्दै पछिल्लो समय प्राप्त उपलब्धि र सामना गरिरहेका चुनौतीबारे जनकारी गराउनुभयो ।
संस्थानले पछिल्लो समय करारमा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको र नौ वर्षपछि कर्मचारीको वृत्तिविकासको बाटो खुलेको जानकारीसमेत गराउनुभयो ।
पाठकमाझ अनलाइनको उपस्थिति दरिलो छ : सम्पादक चौधरी
गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य एवम् गोरखापत्र अनलाइनका निमित्त सम्पादक लोकबहादुर चौधरी (लक्की चौधरी) ले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पाठकमाझ गोरखापत्र अनलाइनको उपस्थिति दरिलो भएको बताउनुभयो ।

‘डिजिटल युगअनुसार गोरखापत्रको डिजिटल प्रकाशन अगाडि बढेको छ। यसलाई हामीले समयअनुसार रूपान्तरण गरेका छौँ’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय पाठकमाझ हाम्रो उपस्थिति दरिलो बनेको छ ।’ डिजिटल दुनियाँमा गोरखापत्र विषयवस्तुका हिसाबले प्रतिस्पर्धी भएको उहाँको भनाइ छ ।
उहाँले गोरखापत्र अनलाइनको सुरुवात, गोरखापत्रका अन्य प्रकाशनसँगको सहकार्यका विषयमा जानकारी गराउनुभयो । समय र प्रविधिअनुसार गोरखापत्र अनलाइन रूपान्तरणका लागि केही चुनौती रहेकोसमेत व्यवस्थापनलाई जानकारी गराउनुभयो ।
चुनौतीलाई सामना गर्दै अगाडि बढ्नुपर्छ : प्रधान सम्पादक बस्नेत
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले संस्थान चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले चुनौतीलाई अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

‘समय अनुसार संस्थान चुनौतीलाई सामना गर्दै अगाडि बढ्नुपर्छ । त्यो नै अवसर हो । यो समय भनेको डिजिटल नै हो । हाम्रा विषयवस्तुलाई सुधार गर्नुपर्छ र आर्थिक रूपमा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्छ ।’
कार्यक्रमको अध्यक्षता गर्नुभएका गोरखापत्र डिजिटल विभाग प्रमुख नारदमुनि गौतमले गोरखापत्र संस्थान डिजिटल दुनियाँको ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्नुभयो । उहाँले गोरखापत्र सरकारको मात्र नभएर सिङ्गो राष्ट्रको मुखपत्र भएको बताउनुभयो । गौतमले गोरखापत्रका डिजिटल प्रकाशन ‘क्लिकबेट’को दौडमा नरहेको उल्लेख गर्दै सत्यको खोजीका लागि अगाडि बढेको दाबी गर्नुभयो ।

दी राइजिङ नेपाल डेली डटकमका निमित्त सम्पादक नन्दलाल तिवारीले सहजीकरण गर्नुभएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको उपसचिव एवम् संस्थान सञ्चालक समिति सदस्य सुरथ पोखरेल, दी राइजिङ नेपाल डेलीका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, मधुपर्क मासिकका सम्पादक तुलसीहरि कोइराला, युवामञ्च मासिकका सम्पादक उमेश ओझा, गोरखापत्र संस्थानका प्रवक्ता ताराबहादुर बस्याल, संस्थानका विभिन्न विभागका प्रमुखहरु, शाखा र प्रकाशनका प्रमुख र कर्मचारीको उपस्थिति थियो।

‘गोर्खापत्र’ साप्ताहिक रूपमा प्रकाशन भएको ९५ वर्षपछि वि.सं. २०५३ साल फागुन १२ गते पहिलो पटक ‘दी राइजिङ नेपाल डेली’ मा प्रकाशित समाचार सामग्री एचटिएमएलमार्फत इन्टरनेटमा उपलब्ध गराइएको थियो। सोही दिनलाई गोरखापत्र संस्थानले ‘गोरखापत्र डिजिटल डे’ मनाउन थालेको हो।


तस्बिरः सागर बस्ने र केशब गुरुङ