• ६ जेठ २०८१, आइतबार

नेपाली भूमिबाट मानसरोवरको दर्शन

blog

मानसरोवर कैलाशको दर्शन गर्न लाप्चा पुगेका आन्तरिक पर्यटक ।

हुम्ला, साउन ३ गते । नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने याम सुरु भएको छ । पाँच हजार मिटर अग्लो न्यालु लेकको सडक मर्मतपछि सञ्चालनमा आएकाले अहिले आन्तरिक धार्मिक पर्यटक लाप्चा क्षेत्र गएर मानसरोवर कैलाशको दर्शन गर्न थालेका हुन् । 

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले यस वर्षको पहिलो समूहले पैदल मार्गबाट लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेको बताउनुभयो । उहाँका अनुसार लिमीका ११० जना स्थानीयवासीले लाप्चाबाट कैलाश दर्शन गरेका हुन् । 

यस वर्ष पनि भारतीय सद्गुरुको करिब एक हजार चार सय जनाको टोलीले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने कार्यक्रम तय भएको छ । भदौ ३ गते सिमकोट आइपुग्ने कार्यक्रमअनुसार अहिले यहाँ तयारी तीब्र छ । सद्गुरुको भ्रमण हुने भएपछि यहाँका होटल र पर्यटन व्यवसायी उत्साही बनेका छन् ।

यहाँको होटल विजयका सञ्चालक विजय लामाले भन्नुभयो, ‘भारतीय सद्गुरुको भ्रमण हुने भएपछि यसपटक पनि भारतीय पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।’गत मङ्सिरमा हिमपात भएपछि सडक अवरुद्ध भएकाले लाप्चाबाट तिब्बतमा अवस्थित मानसरोवर कैलाश दर्शन गर्ने कार्य बन्द भएको थियो । 

यसअघि न्यालुु लेक क्षेत्रको सडक मर्मत नगरिएको कारण बन्द रहेको थियो । सडक सञ्चालन हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लाप्चा जाने बाटो खुलेको हो । सदरमुकाम सिमकोटबाट लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने नौभन्दा बढी समूहले तयारी गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले बताउनुभयो । 

सडक सञ्चालनपछि लाप्चाबाट दर्शन गर्न कम्तीमा पनि तीन दिनको यात्रा गर्नुपर्ने हुन्छ । पछिल्लो समय लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्ने आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै आएको छ । राम्रो मौसम भएको समयमा लाप्चाबाट कैलाश पर्वत स्पष्ट रूपमा देख्न सकिन्छ ।

गत वर्ष भारतीय सद्गुरुको ५० जनाको समूहले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेको थियो । उहाँको दर्शनपछि सातवटा भारतीय पर्यटकको समूहले पनि दर्शन गरेको थियो भने एउटा अन्य देशका पर्यटकको समूहले दर्शन गरेको थियो । गत वर्ष नै चार सयभन्दा बढी आन्तरिक पर्यटकले लाप्चाबाट कैलाशको दर्शन गरेका थिए । त्योभन्दा अघिल्लो वर्ष ३३५ जनाले दर्शन गरेका थिए । 

गत वर्षको वैशाख ४ गते पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले हेलिकोप्टरबाट लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेको थियो । कोरोना कहरपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै आएको छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।