• १२ फागुन २०८२, मङ्गलबार

फेमे खोलामा बेलिब्रिज जडान सुरु

blog

फिदिम फालौट सडक खण्डमा जडान थालिएको बेलिब्रिज । तस्बिर: राधा लुइटेल

फिदिम, फागुन १२ गते ।पाँचथर सदरमुकाम फिदिमदेखि भारतको वेस्ट बङ्गालसम्म सडक सञ्जाललाई जोड्ने फिदिम–फालोट सडक खण्डमा अवस्थित फेमे खोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरको अगुवाईमा पुल जोड्न थालिएको हो ।यहाँ ‘पुस एन्ड पुल’ प्रविधिबाट पुल जोड्न थालिएको हो ।फेमे खोलामा पुल थालिएसँगै यो सडकमा सवारी र ढुवानी साधनको आवागमन बन्द गर्न भनिएको छ ।

जडानका क्रममा थुप्रै सामग्री सडकमा राख्नुपर्ने भएकाले फागुन १२ गतेदेखि  १७ गतेसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्‍न ४ बजेसम्म यो बाटो अवरुद्ध हुने पूर्वाधार विकास कार्यालय पाँचथरले सार्वजनिक सूचना मार्फत जनाएको छ ।

सो अवधिमा सरोकारवाला सबै पक्षलाई उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, यातायात व्यवसायी तथा निर्माण कम्पनीसँग आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभयो ।

निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएपछि फिदिम–फालोट क्षेत्रका स्थानीय बासिन्दा तथा यात्रुहरूलाई आवागमनमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा हुने सवारी अवरोधको समस्या समाधान हुने विश्वास लिइएको छ ।यहाँको पक्की पुल २०८१ असोज १२ गतेको बाढीले बगाएको थियो ।