• १२ फागुन २०८२, मङ्गलबार

दुई दिन देखि हराइरहेका एक युवा मृत अवस्थामा फेला

blog

घटनास्थलमा प्रहरी टोली र स्थानीय । तस्बिर : विनय कर्ण

विनय कर्ण 

कल्याणपुर(सप्तरी), फागुन १२ गते ।सप्तरीको राजविराज नगरपालिकामा मङ्गलबार एक युवाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर ७ घर भएका १८ वर्षीय अङ्गदकुमार मेहतरको पोखरीमा डुबेर मृत्यु भएको हो ।परिवारजनका अनुसार दुईदिन अघि आइतबार उहाँ भारतको विहार राज्य अन्तर्गत पर्ने भिमनगर स्थित दिदी कहाँ जान्छु भन्दै घरबाट निस्कनुभएको थियो ।

मङ्गलबार बिहान ६ बजेतिर सोही वडामा रहेको तुरन्ती पोखरीमा उहाँको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक प्रमोद साहको नेतृत्वमा पुगेको टोलीले गोताखोरको मद्दतले शव बाहिर निकालेपछि मृतकका आफन्तले सनाखत गर्नुभएको थियो ।

मृतकका शव पोस्टमार्टमका लागि गजेन्द्रनाराण सिंह अस्पताल राजविराज पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतक मेहतर छारेरोगबाट पीडित रहेको खुलेको छ ।