शंकर केसी
सल्यान, फागुन १२ गते । प्रतिनिधिसभा निर्वाचनमा मत हाल्ने दिन नौ दिन मात्रै बाँकी रहाँदा सल्यानमा चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्लामा कुल १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने एक लाख ६२ हजार ४४९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सल्यानमा सबैभन्दा बढी खस आर्य समुदायका मतदाता ६४.२९ प्रतिशत रहेका छन् । त्यसपछि आदिवासी, जनजाति समुदायका मतदाता २१.४३ प्रतिशत छन् भने दलित समुदायका मतदाता १४.२९ प्रतिशत रहेका छन् । लिङ्ग अनुसार हेर्दा कुल मतदातामध्ये ५१.२९ प्रतिशत अर्थात् ८३ हजार ३२१ जना पुरुष रहेका छन् भने ४८.७१ प्रतिशत अर्थात् ७९ हजार १२८ जना महिला मतदाता रहेका छन् ।
यस निर्वाचनमा सल्यानबाट राजनीतिक दलका १२ जना तथा दुई जना स्वतन्त्र उम्मेदवार गरी १४ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट केशबहादुर बिष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह, नेपाली कम्युनिष्ट पार्टीबाट रमेश मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितकुमार चन्द र नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर खडका उम्मेदवार हुनुहुन्छ ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदाश विक, जनमोर्चाकी कमला डाँगी, मंगोल नेसनल अर्गनाईजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा पनि मैदानमा हुनुहुन्छ । स्वतन्त्रतर्फ युवाहरु ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहनुभएको छ ।
बहुदलीय प्रतिस्पर्धा, स्वतन्त्र उम्मेदवारको उपस्थिति र समुदायगत मतदाता संरचनाका कारण सल्यानको चुनावी प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा प्रचार प्रसारका गतिविधि थप तीव्र बन्दै गएका छन् ।
जिल्लामा निर्वाचनका लागि एक सय १७ मतदानस्थल र २०५ मतदान केन्द्र तोकिएको छ । एक सय १७ मतदान स्थलमध्ये ४३ वटालाई अति संवदेनशील सूचीमा राखिएको छ भने ५७ मतदानस्थल संवेदनशील रहेका छन् ।