• १२ फागुन २०८२, मङ्गलबार

उम्मेदवारको एजेन्डामा परेन बलेवा विमानस्थल

blog

बागलुङको बलेवा विमानस्थल । तस्बिर : रामकृष्ण बोहोरा

बागलुङ समाचारदाता

बागलुङ, फागुन १२ गते । गत २०७९ सालको संसदीय निर्वाचनमा सबै उम्मेदवारको चुनावी एजेन्डा बलेवा विमानस्थललाई सञ्चालन गर्ने कुरा बनेको थियो । २०७४ ताका केही समय कच्ची धावनमार्गमै विमानले उडान भरेका थिए । २०७८ मा विमानस्थलको टर्मिनल भवन पुनर्निर्माण, धावनमार्ग कालोपत्रे गर्नुका साथै त्यसको सुरक्षार्थ काँडेतार लगाएपछि एक पटक जहाजले उडान भरेका छैनन् ।   

यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बागलुङका कुनै पनि उम्मेदवारले विमानस्थलको मुद्दाबारे कुरा उठाएका छैनन् । राज्यको करोडौँ खर्च भएको विमानस्थल सञ्चालनबारे उम्मेदवारको प्राथमिकतामा नपरेपछि स्थानीय निराश भएका छन् । बागलुङ नगरपालिका–१४, नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले भन्नुभयो, “विमानस्थल सञ्चालनमा कसैले चासो नदिँदा हामी पनि चिन्तित भयौँ, करोडौँ लगानी भएको सम्पत्ति जीर्ण हुँदासमेत कसैले चासो नदिँदा स्थानीयलाई दुःख लाग्छ ।” 

विमानस्थलको धावनमार्ग अहिले जीर्ण बनेको छ । सुरक्षार्थ लगाइएको तारबारमा खिया लागेपछि असुरक्षा बढेको छ । खत्रीले गुनासो गर्दै भन्नुभयो, करोडौँ बजेट खर्चिएर बनेको विमानस्थल उपलब्धिविहीन बन्यो । बनेका संरचना पनि प्रयोग नहुँदै जीर्ण बने, जहाज कहिले चल्छ पत्तो छैन । विमानस्थल चलाउन मन्त्रीदेखि सांसदलाई जानकारी गराउँदा पनि सुनुवाइ भएन, अहिले त उम्मेदवारकै एजेन्डा नबनेपछि कसले पहल गर्ला ?” 

हाल विमानस्थल एक जना हेरालुको भरमा छ । बागलुङ क्षेत्र नं. १ मा नेकपा (एमाले) का हिराबहादुर केसी, नेपाली कांग्रेसका भीम श्रीस, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनेमार्चाका साझा उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्कासहित एघार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ती सबै दलका उम्मेदवार विमानस्थलबारे मौन देखिएका छन् ।  

२०२२ सालदेखि बागलुङ नगरपालिका–१४ को नारायणस्थानको बलेवा विमानस्थलमा जहाजले उडान भर्न सुरु गरेका थिए । पोखरा–बागलुङ राजमार्ग बनेपछि २०५० सालपछि विमानस्थल बन्द भएको थियो । त्यतिबेला सातामा तीन दिनसम्म जहाजले उडान भर्दा पोखरा, भैरहवा र काठमाडौँसम्म यहाँबाट हवाईयात्रा हुन्थ्यो । विमानस्थलबाट बागलुङ, पर्वत र म्याग्दीका जनताले हवाई सेवा लिने गरेका थिए । चार वर्षअघि विमानस्थल कालोपत्रेपछि एक पटक पनि जहाजले उडान भरेका छैनन् । २०७८ को वैशाखमा आठ करोड २४ लाख ३४ हजार रुपियाँको लागतमा बलेवा विमानस्थल कालोपत्रे गरेको थियो । 

३० मिटर चौडा र सात सय मिटर लम्बाइको धावनमार्ग कालोपत्रेसहित एक हजार एक सय मिटर मैदान ग्राभेल गरिएको छ । टर्मिनल भवनसमेत पुनर्निर्माण गरिएको छ । बन्द भएको २६ वर्षपछि २०७४ चैत्र ५ गते तारा एयरको जहाजले परीक्षण उडान भरेको थियो । बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेलको पालामा नगरपालिकाले जहाजमा १२ सिटभन्दा कम यात्रु भए सिट भारवहन गर्ने गरी नेपाल एयरलाइन्स र तारा एयरसँग नियमित जहाज चलाउन सम्झौता गरेको थियो । 

यात्रु अभावमा नगरपालिकाले आर्थिक भार थेग्न नसकेपछि तीन महिनामै विमानस्थलमा उडान बन्द भएको थियो । नगरपालिकाले प्रारम्भिक चरणमा छ महिनाको सम्झौता गरेर दुवै एयरलाइन्सलाई अग्रिम १०/१० लाख रुपियाँ पेस्कीसमेत दिएको थियो । केही समयका लागि जहाजका यात्रुलाई बागलुङ बजारदेखि विमानस्थलसम्म पु¥याउन निःशुल्क सुविधासमेत नगरपालिकाले गरेको थियो ।