गोरखापत्र दैनिकले १२५ वर्ष पूरा गरी १२६ वर्षको खुडकिलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको चौथो वार्षिकोत्सव मनाइरहेका छौंं । यत्ति लामो इतिहास बोकेको गोरखापत्रको डिजिटल प्रकाशनमा भने २०६९ मंसिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित ढङ्गले समाचार प्रकाशन सुरु भएको हो । बि.सं. २०५३ फागुन १२ गतेदेखि अंग्रेजी पत्रिका ‘दि राइजिङ नेपाल’ को समाचार सामग्रीलाई इन्टरनेटमा पहिलो पटक प्रकाशन गरेको स्मरणमा संस्थानले सोही दिनलाई ‘डिजिटल डे’ को रुपमा मनाउने निर्णय गर्यो । यो हिसावले हामी डिजिटलमा प्रवेश गरेको २९ वर्ष पुग्यो । २०७६ भदौं २४ गते सूचना विभागमा दर्ता भई व्यावसायिक प्रतिस्पर्धामा खरो उत्रेको डिजिटल भर्सनको प्रथम डिजिटल डे २०७९ फागुन १२ गते मनाएका थियौं । आज २०८२ फागुन १२ गते चौथो ‘डिजिटल डे’ मनाइरहेका छौं । आजको यस सुखद क्षणमा हामी हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक र सहयोगी सबैमा हार्दिक आभारसहित शुभकामना व्यक्त गर्दछौं । हाम्रो सफलता र विश्वसनीयता पाठकको अपार माया, विश्वास र स्नेह हो । यो माया, विश्वास र सहयोग यहाँहरुबाट सदैव अपेक्षा गर्छौं ।
हामीलाई आरोप लाग्नेगर्छ ‘गोरखापत्र सरकारको मुखपत्र हो ।’ हामी दावी गर्छौं ‘गोरखापत्र राष्ट्रको मुखपत्र हो ।’ डिजिटल युगको यस प्रतिस्पर्धी बजारमा हाम्रा पाठक र शुभेच्छुकलाई सन्तुलित, निश्पक्ष र विश्वसनीय समाचार सामग्री पस्कन हामी अहोरात्र खटेका छौं । गोरखापत्र संस्थान पूर्ण सरकारी स्वामित्वको प्रकाशन संस्था भए पनि प्रतिस्पर्धी बजारमा हामी आफूलाई व्यावसायिक रुपमा उभ्याएका छौं । सरकारलाई वार्षिक करोडौं रुपियाँ कर भुक्तान गर्छौं । देश विदेशमा रहनुभएका हाम्रा पाठक र शुभेच्छुकहरुका लागि गुणस्तरीय र विश्वसनीय सूचना समाचार पस्कन्छौं । देशभरका ७७ जिल्लामा करिब दुईसय जना हाम्रा समाचारदाता नयाँ सूचना र समाचार संकलनमा तैनाथ हुनुहुन्छ । परिपक्व र आधिकारिक सूचना हाम्रा समाचारका खुराक हुन् । दैनिक करिब दुईसय संख्यामा समाचारहरु डिजिटल माध्यमबाट पस्कन्छौं । सत्य, निश्पक्ष, विश्वसनीय र तथ्यसहितको समाचारले पाठकमाझ हाम्रो विश्वसनीयता बढाएको अनुभूति गरेका छौं । पाठकहरुलाई अल्मल्याइ भ्यूज बढाउने छुट हामीलाई छैन । हाम्रो समाचार सामग्रीप्रति पाठकहरुले देखाउनुभएको अपार माया र विश्वसनीयताले हामी पुलकित छौं । यही हाम्रो सम्पत्ति हो । यो पुँजीलाई जोगाइ राख्न निरन्तर खटेका छौं, खटिरहने छौं ।
डिजिटल युगको सबैभन्दा ठुलो चुनौती भनेकै पाठकमाझ आफ्नो विश्वसनीयता कायम राख्नु हो । न्यूमिडियाको तीव्र छलाङले अथाह अवसरसँगै चुनौती थपेको छ । यसको सदूपयोग गर्ने कि दुरुपयोग, च्वाइस प्रयोगकर्ताको हो । हाम्रो सुझाव प्रविधिको अधिक्तम सदुपयोग गर्न सक्नुपर्छ भन्ने हो । यसले हाम्रो कामलाई सहज, सरल र विश्वसनीय बनाउँछ । यसको दुरुपयोग गर्नेतर्फ सोच्ने र प्रोत्साहन कसैले गर्नु हुँदैन । डिजिटल बजारमा अहिले सत्यतथ्य र विश्वसनीय समाचारको खडेरी बढ्दैगएको छ । समाचारको तथ्यलाई तोडमोड गरी पाठकहरुलाई अल्मल्याई भ्यूज बढाउनेमा अधिकांशको ध्याउन्न देखिन्छ । डिजिटल मिडियाको विकासले पाठकहरुलाई छनौटको विकल्प प्रशस्त दिएको छ, तर गुणस्तरीय सामग्रीको अभावले पाठकलाई निराश बनाएको छ । यस्तो अवस्थामा गोरखापत्रको डिजिटल प्रकाशन भरपर्दो र विश्वसनीय समाचारको विकल्प हो भन्ने हाम्रो ठम्याइ छ । हामी दिनरात डिजिटल प्लेटफर्म मार्फत पाठकको सेवामा छौं ।आगामी दिनमा अझ बढी विश्वसनीय र पठनीय सामग्री पस्कने हाम्रो प्रयास रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।
गोरखापत्रको डिजिटल प्रकाशनमार्फत हामी ४६ भाषामा सामाचार सामग्री पस्कन्छौंं । गोरखापत्र संस्थानका मासिक प्रकाशन मधुपर्क, युवामञ्च र मुना, राइजिङ नेपाल डेली डट कम मार्फत् पाठकलाई डिजिटल खुराक पस्कदै आएका छौं । संस्थानका सबै प्रकाशनको बाहक डिजिटल प्लेटफर्म नै हो । देश विदेशमा रहनुभएका हाम्रा करोडौं पाठकहरुका लागि विहानै गोरखापत्र, राइजिङ नेपालसहितका प्रकाशनको इपेपर प्रकाशन गर्छौं । त्यसैले डिजिटल प्लेटफर्म हाम्रा प्रकाशनको बाहक पनि हो । पाठकहरुको चाहनालाई ध्यानमा राखी अनलाइन टीभीमार्फत् विभिन्न विधाका भिडियो सामग्री पस्कदैआएका छौं । समावेशिता, मुलुकको विविधतालाई ध्यान दिइ सोही प्रकृतिका समाचार सामग्रीलाई प्राथमिकतामा राखेका छौं । मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा छ । फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल बनाउनु हामी मिडियाकर्मीको महत्वपूर्ण जिम्मेवारी र कर्तव्य हो । निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सत्य तथ्य समाचार सामग्री पस्कन अनिवार्य छ । पाठक तथा मतदातामा निर्वाचनसम्बन्धी कुनै भ्रम नपरोस् भन्नेमै हामी सजग हुुनुपर्छ । हाम्रा प्रकाशनमार्फत हामी त्यो जिम्मेवारी पूरा गर्दैआएका छौं, गरिरहने छौं ।
हाम्रो डिजिटल प्रकाशन सामग्रीलाई अझ प्रभावकारी, विश्वसनीय र पठनीय बनाउन पाठकको सुझाव र खवरदारी अपेक्षित छ । यहाँहरुको अमूल्य सुझाव, टिप्पणी र मार्गनिर्देशनको सदैव अपेक्षा रहने छ । काम गर्नेक्रममा अनेक त्रुटी, कमजोरी हुन्छन् । त्यसबाट पाठ सिक्दै आगामी दिनमा प्रकाशनलाई अझ पठनीय र परिस्कृत बनाउनेछौं । यहाँहरुको स्वस्थ र रचनात्मक आलोचना र सुुझावले हाम्रो हौसला बढाएको छ । चौथोे ‘डिजिटल डे २०८२’ को अवसरमा हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक र सहयोगी सबैमा हार्दिक धन्यवादसहित शुभकामना व्यक्त गर्दछौं ।