• १२ फागुन २०८२, मङ्गलबार

सालझन्डी–ढोरपाटन सडक हरेक चुनावको मुख्य एजेन्डा

blog

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, फागुन १२ गते । चुनावमा सधैँ प्राथमिकतामा पर्ने सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना यस पटकको चुनावमा पनि दलको मुख्य एजेन्डामा परेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना घोषणा गरेर निर्माण गर्न थालिएको यो सडक १७ वर्ष पुग्दा ३८ प्रतिशत मात्रै काम भएको छ । सडकको ट्र्याक खुलेको छ, कालोपत्रे, विस्तार र स्तरोन्नतिको काम बजेट अभावले सुस्त गतिमा चलिरहेको छ । १७ वर्षमा २२ किलोमिटर मात्रै कालोपत्रे भएको छ । विगत १६ वर्षदेखि यही सडक चुनावी नारा बन्दै आएको छ । 

यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारले यसलाई चुनावी मुद्दा बनाएका छन् । एमालेका उम्मेदवार पिताम्बर भुसालले यो सडक आयोजना पूरा गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । 

नेपाली कांग्रेसका उम्मेदवार विष्णु खनालले योजना सम्पन्न गर्ने गरी ठोस कदम लिएर काम गर्ने बताउनुभयो । त्यसै गरी रास्वपाका उम्मेदवार हरिप्रसाद भुसालले सडक आयोजना सम्पन्न हुने गरी बजेटको व्यवस्था गर्ने बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले बहुआयामिक सडक विस्तारमा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । 

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना प्रमुख गागलकुमार भण्डारीले २२ किलोमिटर कालोपत्रे भएको र बाँकी काम निर्माणको चरणमा रहेको बताउनुभयो । चालु आर्थिक वर्ष ३८ करोड रुपियाँ बजेट विनियोजन भएको छ । यो वर्ष ८० किलोमिटर सडक कालोपत्रे हुने गरी टेन्डर भएको छ । यो वर्षको काम गर्नका लागि दुई अर्ब रुपियाँ आवश्यक रहेको भण्डारीले बताउनुभयो ।