रलिङ समाचारदाता
रलिङ (हुम्ला), फागुन १२ गते । हुम्लाको खार्पुनाथ गाउँपालिका–१, लालीगाउँकी पुल्तिसरा जैसी सिमकोट विमानस्थल गेटमा लाइनमा उभिरहनुभएको थियो । अनुदानको नुन किन्न उहाँ खार्पुनाथ गाउँपालिका–१ को देउखुरी गाउँबाट एक दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आउनुभएको हो । दिनभरि पैदल हिँडेर आएकी उहाँलाई आठ प्याकेट नुन लिएर फिर्ता हुन थप एक दिन नै लाग्छ ।
नुन किन्न दुई दिन खर्चिनु परे पनि उहाँले चाहे जति नुन भने खरिद गर्न पाउनुभएन । एउटा नागरिकताबाट एक जनाले आठ प्याकेट मात्रै नुन खरिद गर्न पाउने नियम लागु गरिएको छ । जैसी भन्नुहुन्छ, “पहिला चामल किन्न यसरी नै लाइन बस्नु पथ्र्यो, अहिले नुन किन्न लाइनमा बस्नुपर्ने बाध्यता छ ।”
पुल्तिसरा मात्रै नभई खार्पुनाथ–१, देउखुरीका कृष्णप्रसाद जैसी पनि नुन किन्ने लाइनमा उभिरहनुभएको थियो । उहाँको गुनासो पनि पुल्तिसराको जस्तै थियो । आठ प्याकेट नुन किन्न दुई दिन खर्चिनुपर्ने गुनासो गर्नुभयो । उहाँले दुःखेसो पोख्नुभयो, “एक दिन सिमकोट आउन समय लाग्छ । फर्किन पनि त्यति नै समय लाग्छ । आठ प्याकेट नुन किन्न दुई दिन खर्चिनु पर्छ ।” सिमकोट गाउँपालिका–८ का तुलराज बुढा पनि अनुदानको नुन किन्न तीन/चार घण्टा पैदल हिँडेर सिमकोट आएको बताउनुहुन्छ । एउटा नागरिकताबाट आठ प्याकेट नुन किनेर खानुपर्ने बाध्यता रहेको बुढाको दुःखेसो छ । त्यही नुन पनि सहजै पाइँदैन ।