• १२ फागुन २०८२, मङ्गलबार

आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा जसपाद्वारा १५ जना निष्कासित

blog

अजय शाह
गौशाला (महोत्तरी), फागुन १२ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखसहित १५ जना जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न÷नगराउन पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि निष्कासन गरिएको जसपा नेपाल महोत्तरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। साथै, निष्कासित नेताहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।

निष्कासनमा परेका जनप्रतिनिधिहरूमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, पिपरा गाउँपालिकाका उपाध्यक्ष वन्दना पाण्डेय तथा गौशाला नगरपालिका–१२ का अध्यक्ष कुशेश्वर सिंह रहनुभएको छ।

त्यसैगरी पार्टीका अन्य नेताहरूमा गौशाला नगरपालिका–२ का कुमरकान्त मिश्र, गौशाला नगरपालिका–१० का शेष जाली, गौशाला नगरपालिका–४ की  सविता कुमारी देवी, मटिहानी नगरपालिका–५ का रामनन्दन यादव, मटिहानी नगरपालिका–३ का मोजिम राइन, जलेश्वर नगरपालिका–२ का संतोष साह, पिपरा गाउँपालिका–५ का रामप्रकाश यादव तथा शम्भु यादव, पिपरा गाउँपालिका–१ का राहुल पाण्डेय, एकडारा गाउँपालिका–३ का श्याम यादव र एकडारा गाउँपालिका–५ का हरिनारायण मण्डल रहनुभएको छ।

विज्ञप्ति अनुसार श्याम यादव र हरिनारायण मण्डललाई पार्टी केन्द्रीय समितिमा तथा  वन्दना पाण्डेयलाई प्रदेश समितिमा निष्कासनका लागि सिफारिस गरिएको जनाइएको छ।

पार्टीका महोत्तरी जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायद्वारा जारी विज्ञप्तिमा पार्टीको अनुशासन, विधान र हितको संरक्षण गर्दै आगामी निर्वाचनमा सबैले आधिकारिक उम्मेदवारलाई समर्थन गर्नुपर्ने उल्लेख गरिएको छ।

यसैबिच, महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट जसपा नेपालका संरक्षक समेत रहनुभएका राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले आफ्नी छोरी मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएपछि असन्तुष्टि जनाउँदै  हरिनारायण यादवले बागी उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ।