• १२ फागुन २०८२, मङ्गलबार

झापा–५ शाहको वाचापत्रमा संविधान कार्यान्वयनको प्रतिबद्धता

blog

दमक समाचारदाता

दमक, फागुन १२ गते  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत 

‘वाचापत्र’ सार्वजनिक गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगार र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वाचापत्रमा नेपालका संविधान–२०७२ ले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्ने उल्लेख छ । यसै गरी, सङ्घीय सांसदको हैसियतमा भ्रष्टाचार नियन्त्रण, नीति तथा बजेट निर्माणमा क्षेत्रीय आवश्यकताको समावेश, सङ्घ–प्रदेश–स्थानीय तहबिच समन्वय र पारदर्शी शासन प्रणाली प्रवर्धन गर्ने प्रतिबद्धता रहेको छ ।

सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वाचापत्रमा शाहले सार्वजनिक सेवामा डिजिटल प्रणाली, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने उल्लेख छ । शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालय सुदृढीकरण, पुस्तकालय तथा डिजिटल अध्ययन कक्ष स्थापना, स्थानीय भाषा तथा सीपमूलक शिक्षा प्रवर्धन गर्ने योजना रहेका छन् ।

यसै गरी विपन्न परिवारका लागि सहज उपचार पहुँच, आधारभूत स्वास्थ्य सेवा विस्तार, सुरक्षित खानेपानी र सरसफाइ कार्यव्रmमलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ भने नयाँ कार्यव्रmमका रूपमा २४ सै घण्टा ब्लड एम्बुलेन्स सेवा सञ्चालनको प्रतिबद्धता समावेश गरिएको छ । दमक अस्पतालाई तत्कालै तीन सय शøयाको बनाउने बताइएको छ । अहिले यो अस्पताल १५ शøयाको मात्र छ ।

पूर्वाधार विकास अन्तर्गत अधुरा सडक तथा पुल योजना निश्चित अवधिमा पूरा गर्ने उल्लेख छ । कृषि तथा रोजगारी क्षेत्रमा सिँचाइ विस्तार, कृषि उत्पादन भण्डारण केन्द्र, कोल्ड स्टोर स्थापना, बजार पहुँच सुधार र महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने कार्यव्रmम समेटिएका छन् ।

दमक चिसापानी सडकको पूर्णता, दमकको भ्युटावर र निर्माण सम्पन्न भएको दमक सिटी हलको उपयोगलगायतका विषय पनि वाचापत्रमा उल्लेख छ । यसै गरी आदिवासी जनजाति रङ्गशाला निर्माणको विषय पनि प्राथमिकतामा राखेको पाइएको छ । शाहले संरचनागत सुधार र सेवाकेन्द्रित शासनलाई प्राथमिकतामा राखेको देखिन्छ । शाह घरदैलोमा रहनुभएको छ ।

झापा–५ मा बालेन्द्र शाहसँग नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसबाट मन्धरा चिमरिया, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट रञ्जित तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मीप्रसाद सङ्ग्रौला प्रतिस्पर्धामा रहनुभएको छ ।