• १२ फागुन २०८२, मङ्गलबार

मत हाल्न भारतबाट फर्किंदै

blog

मत हाल्न भारतबाट फर्किरहेका नेपाली ।

धनगढी समाचारदाता 

धनगढी, फागुन १२ गते । ऐतिहासिक जेनजी आन्दोलनपछि हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मताधिकार प्रयोग गर्न परदेसिएका कामदार स्वदेश फर्किन थालेका छन् । पर्याप्त रोजगारीको अवसर नहुँदा सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा मजदुरी गर्न भारत जाने बाध्यता छ । रोजगारीको सिलसिलामा त्यसतर्फ गएकाहरू निर्वाचनमा मताधिकार प्रयोग गर्न गौरीफन्टा नाका भएर फर्किरहेका छन् । 

निर्वाचनको मिति नजिकिँदै जाँदा अहिले दैनिक तीन सयभन्दा बढी नेपाली स्वदेश फर्किरहेको सीमा सुरक्षामा खटिएका अधिकारीले जानकारी दिएका छन् । रोजीरोटीको जोहो गर्न बाध्यताले भारत पसेकाहरू मुलुकमा परिवर्तनको आशा बोकेर फर्किरहेका छन् । अछामको मङ्गलसेन नगरपालिका–१३ का झुमाकान्छा ढुङ्गानाले विशेष गरेर मुलुकमा केही परिवर्तनको आश गरेर चुनावमा भोट हाल्न आएको बताउनुभयो । 

सोमबार बिहान गौरीफन्टा नाकामा भेटिनुभएका उहाँले थप्नुभयो, “देशको परिस्थिति बदलिने आशमा आधा महिना ड्युटी छोडेर भए पनि भोट हाल्न आएका छौँ । हाम्रो एक मतले परिवर्तन हुन्छ भने जाउँ न त भनेर २५/३० जना साथीसँगै आइरहेका छौ । अरू पनि अब आउँछन् ।” 

एक भोटले मुलुकमा परिवर्तन आएमा भारत गएर श्रम गर्दै आएका आफूहरूको पनि यतै रोजगारीको व्यवस्थापन हुने परदेशी कामदारको अपेक्षा छ । स्वदेशमा नै सामान्य किसिमको भए पनि काम गर्ने वातावरण बनोस् भन्ने उनीहरूको चाहना छ । पुराना दलबाट धेरै वर्षसम्म अपेक्षा गरिए पनि केही नभएको गुनासो गर्दै ढुङ्गानाले यस पटक मत बदल्ने सोचमा रहेको उल्लेख गर्नुभयो । 

उनीहरूले आफूहरूले मुलुकमा परिवर्तन र यतै रोजगारी चाहेको उल्लेख गरेका छन् । कैलालीको गोदावरी नगरपालिका–३ का प्रेम भण्डारीले मुलुकमै रोजगार बन्ने सबैको चाहना रहेको उल्लेख गर्नुभयो । चुनावमा भोट हाल्न आएको सुनाउँदै उहाँले भन्नुभयो, “अब एक महिनासम्म यतै बस्छु ।” 

आफूलाई कसैले बोलाउनुभन्दा पनि आफ्नो स्वविवेकले मताधिकारको प्रयोग गर्न आएको भण्डारीको भनाइ छ । सुदूरपश्चिम प्रदेशका नेपाली भारतको मुम्बई, दिल्ली, चेन्नई, गुजरात, सिमला, सुरत, रत्नागिरिलगायतका ठाउँमा गएर काम गर्ने गरेका छन् । सहरी क्षेत्रमा लामो समयका लागि काम गर्ने र सिमलालगायतको क्षेत्रमा छोटो समयका लागि काम गर्न जाने परिपाटी रहेको छ ।