• १२ फागुन २०८२, मङ्गलबार

गुल्मीमा संयुक्त सुरक्षा गस्ती

blog

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको टोली संयुक्त सुरक्षा गस्ती । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, फागुन १२ गते।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहति गुल्मीमा संयुक्त सुरक्षा गस्तीलाई तीव्र पारिएको छ। निर्वाचन सुरक्षा व्यवस्थापनका लागि यस जिल्लामा एकीकृत सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ। मतदान केन्द्र र संवेदनशील क्षेत्रलाई लक्षित गरी सुरक्षा निकायले नियमित गस्ती, निगरानी तथा सूचना संकलनलाई तीव्रता दिएको हो।

साथै आम–नागरिकलाई सुरक्षाको प्रत्याभूत दिलाउनका लागि संयुक्त सुरक्षा गस्तीलाई निकै तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिनुभयो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको टोली संयुक्त सुरक्षा गस्तीमा जिल्लाका विभिन्न स्थानका गाउँ–शहरमा परिचालन भएको छ। यहाँ १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका छन्। त्यसैगरी सुरक्षा संवेदनशीलता अनुसार ४८ मतदानस्थल अतिसंवेदनशील, ५७ मतदानस्थल संवेदनशील र ४० मतदानस्थल सामान्य सूचीमा रहेका छन्।

संयुक्त सुरक्षा गस्तीमार्फत स्थानीयस्तरमा सूचना सङ्कलन गर्ने, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, भेटघाट तथा छलफल गर्ने समस्या तथा चुनौतीहरुको पहिचान गरी समाधानमा जोड दिन जनमुखी प्रहरी सेवा प्रदान गरी अपराध रोकथाम एवम् नियन्त्रणका लागि जनसम्पर्क अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। त्यस्तै, निर्वाचन सुरक्षा व्यवस्थापनका लागि यस जिल्लामा कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन, सबै सुरक्षा निकायहरुमा स्थापना गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना सेनाबाट निर्वाचन क्षेत्र सुरक्षा बेसहरु स्थापना गरिएको छ। विगतका निर्वाचनका बेला सुरक्षा चुनौती देखिएका स्थानलाई विशेष ध्यानमा राखेर सुरक्षा रणनीति तयार पारिएको हो।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि यस जिल्लामा तीन वटै सुरक्षा निकायहरुबीच प्रभावकारी समन्वय तथा छलफल हुनुका साथै सरोकारवालाहरुसँग निरन्तर समन्वय भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो। मतदानस्थलहरुको निरन्तर निरीक्षण तथा अनुगमन भइरहेको भन्दै उहाँले तीन तहको सुरक्षाको प्रबन्ध मिलाइएको बताउनुभयो। सबै सुरक्षा निकायहरु फिल्डमा परिचालन भइसकेको उहाँको भनाइ छ। यस जिल्लामा दुई लाख २९ हजार ५४९ मतदाता छन्। जसमा महिला एक लाख १५ हजार २१०, पुरुष एक लाख १४ हजार ३३७ र अन्य दुई जना रहेका छन्।