• ७ फागुन २०८२, बिहिबार

दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट हुँदा छ जनाको मृत्यु, १२ घाइते

blog

पाकिस्तान, फागुन ७ गते । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीको आवासीय भवनमा बिहीबार ग्याँस चुहावटले गर्दा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको उद्धार अधिकारीले बताएका छन् । भवनको पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षेतिग्रस्त हुँदा दुर्घटना भएको सरकारी उद्धार कार्यलयले एक विज्ञप्ति मार्फत जनाएको छ ।

विस्फोटको सूचना पाएपछि उद्धार टोली तुरुन्तै घटना स्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताले खोजी अभियानका लागि सबै उपलब्ध स्रोत प्रयोग गरेर  पीडितलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन् । 

प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यासबाट ग्याँस चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ । बालबालिकासहित घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाउदै उद्धार टोलीले भग्नावशेष मुनि कोही पनि फसेको छैन भनेर सुनिश्चित गर्न उत्खनन प्रयास जारी राखेको जनाएका छन् । रासस/सिन्ह्वा