• ७ फागुन २०८२, बिहिबार

देश निर्वाचनमय भएको छ : प्रदेश प्रमुख देवकोटा

blog

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन ७ गते । बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले देश निर्वाचनमय भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले निष्पक्ष निर्वाचन नै प्रजातन्त्रको मुटु भएको स्पष्ट पार्नुभयो ।

उहाँले आम मतदाताले कुनै डर, त्रास र दबाबबिना आफ्नो गोप्य मताधिकार प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “अरूलाई गाली गरेर होइन, आफूले राम्रो गरेर देखाउनुपर्छ,” उहाँले भन्नुभयो । सामाजिक सञ्जाल तथा प्रचारप्रसारमा देखिएका निकृष्ट आलोचना र सतही प्रचारमार्फत मतदातालाई प्रभाव पार्ने प्रयास उचित नभएको उल्लेख गर्दै उहाँले राजनीतिक दल, उम्मेदवार तथा आम नागरिकलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह गर्नुभयो ।

चुनावका कारण समाजमा मनमुटाव हुन नहुने बताउँदै उहाँले समाज स्थायी र चुनाव अस्थायी हुने स्मरण गराउनुभयो । नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त प्रजातन्त्र सबैको साझा गौरव भएको उल्लेख गर्दै उहाँले फागुन ७ र त्यसपछिका सम्पूर्ण राजनीतिक परिवर्तनलाई ऐतिहासिक धरोहरका रूपमा व्याख्या गर्नुभयो ।

प्रदेश प्रमुख देवकोटाले आगामी निर्वाचनले अस्थिरता र अन्योलतालाई चिर्दै समृद्ध नेपाल निर्माणतर्फ कोसेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । प्रजातन्त्र प्राप्तिका लागि प्राण उत्सर्ग गर्ने अमर सहिदहरूप्रति सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दै उहाँले प्रजातन्त्र विधिको शासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित व्यवस्था भएको जिकिर गर्नुभयो । देश र जनताप्रतिको उत्तरदायित्व कमजोर हुँदा प्रजातन्त्र पनि कमजोर हुने उहाँको भनाइ छ ।