केदार तिमल्सिना
बनेपा, फागुन ७ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि काभ्रेपलाञ्चोक जिल्लाका दुई वटा निर्वाचन क्षेत्रका लागि दुई हजार चार सय कर्मचारी खटाइने भएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले तीन हजार ६३६ जना कर्मचारीको विवरण तयार गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिफारिस गरेको हो ।
निर्वाचन कार्यालयले १८ वटा सङ्घीय कार्यालयका ४२९ जना, प्रदेश अन्तर्गतका १७ वटा कार्यालयका २७१ जना, १२ वटा सङ्घ-संस्थाका १८६ जना, १३ वटा स्थानीय तहका एक हजार ६७ जना, १६५ विद्यालयका एक हजार ५७९ जना, ३६ वटा विद्यालयका १०४ जना कर्मचारीको विवरण सङ्कलन गरेको हो ।
निर्वाचनमा आवश्यक दुई हजार चार सय जनशक्तिमा निर्वाचन कार्यालयले तीन हजार ६३६ जनाको नाम सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीले जानकारी दिनुभयो । उहाँले कार्यालयले चार सय मतदान अधिकृतका लागि ५१ जना उपसचिव स्तर, ५४६ जना शाखा अधिकृत स्तर र १९१ जना अधिकृत छैठौँ कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिफारिस गरेको बताउनुभयो ।
यस्तै चार सय जना सहायक मतदान अधिकृतका लागि नायव सुब्बास्तरका ८७७ जना, एक हजार दुई सय जना सहायक कर्मचारी खरिदार स्तरका एक हजार ४६८ जना र चार सय सहयोगी कर्मचारीका लागि ५०३ जना कर्मचारीको नामावली सङ्कलन तयार गरिएको छ । निर्वाचनका लागि आवश्यक जनशक्तिको दस प्रतिशत कर्मचारी जगेडा राख्नुपर्ने प्रावधान रहेको छ ।
जिल्ला निर्वाचन अधिकारी सिवाकोटीले निर्वाचनमा मतदान अधिकृतमा खटाउन सकिने उपसचिव स्तरका २६ जना कर्मचारीमध्येबाट २० जना, मतदान अधिकृतमा शाखा अधिकृत स्तर १८९ जना (शिक्षक बाहेक) खटाउन सकिने, मतदान अधिकृतमा छैठौँ तहको अधिकृत १९१ जना खटाउन सकिने बताउनुभयो ।
यस्तै सहायक मतदान अधिकृतमा नायव सुब्बा स्तरका ५९९ जनामध्येबाट शिक्षक बाहेक चार सय जना, सहायक कर्मचारीमा नायव सुब्बास्तरबाट १९९ जना खटाउन सकिने, सहायक कर्मचारीमा खरिदारस्तरका ४९९ जना खटाउन सकिने छ । सहायक कर्मचारीमा विद्यालयका कर्मचारीबाट ५० जना खटाउन सकिने, सहायक कर्मचारीमा उपलब्ध ९१९ शिक्षकबाट ४५२ जना र सहयोगी कर्मचारीमा उपलब्ध ५०३ जनामध्येबाट चार सय जना कर्मचारी खटाउन सकिने जिल्ला निर्वाचन अधिकारी सिवाकोटीले बताउनभुयो ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा कुल १८९ मतदान स्थल र चार सय मतदान केन्द्र कायम गरिएको छ । जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर–१ मा एक लाख ६१ हजार एक सय र क्षेत्र नम्बर–२ मा एक लाख ६५ हजार ५११ गरी कुल तीन लाख २६ हजार ६११ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको अन्तिम टुङ्गो लागेको र आज (बिहीबार) साँझसम्म मतदान केन्द्रहरूमा खटिने कर्मचारीहरूको नामावली प्रकाशन गर्ने तयारी भई रहेको जनाएको छ ।