• ७ फागुन २०८२, बिहिबार

गाउँमा दलको चुनावी घरदैलो

blog

मतदातासँग घरदैलो गर्दै उम्मेदवार ।

राजन रावत

हुम्ला, फागुन ७ गते । दूरदराजका बस्ती पुगेर उम्मेदवारले मतदातासँग निर्वाचनका लागि घरदैलो अभियानलाई तीव्र पारेका छन् । चुनावी प्रचार गर्ने समय छोटिँदै आएको र जिल्लाको भूगोल ठुलो भएका कारण उम्मेदवार र दलका नेता बिहानदेखि बेलुका अबेरसम्म घरदैलो अभियान तीव्र पारेका हुन् । 

चुनावी प्रचार कार्यक्रममा अगाडि रहेको नेकपा (एमाले) ले हालसम्म चार वटा गाउँपालिकाका दूरदराजका बस्तीमा प्रचार कार्यक्रम सम्पन्न गरेको एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । एमालेले दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाका सबै बस्तीमा पुगेर मतदाता भेट्ने र आफ्ना कुरा राख्ने, त्योसँगै मतदाताका कुरा सुन्ने काम गरिसकेको उहाँको भनाइ छ । बुधबारदेखि खार्पुनाथ गाउँपालिका–१ मा एमालेले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेको छ । अझै सिमकोट र नाम्खा गाउँपालिकाका बस्ती बाँकी नै रहेका कारण फागुन १७ गतेसम्म यो अभियान जारी रहने उहाँले बताउनुभयो । यतिबेला एमाले उम्मेदवार र नेता मतदाताका कुरा सुन्ने काम गरिरहेको र आफ्ना चुनावी प्रतिबद्धता मतदातालाई सुनाउने काम भइरहेको छ । एमाले अभियानमा निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर रावल, उम्मेदवार दलबहादुर फडेरा, समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य छक्कबहादुर लामालगायतको टोली परिचालन भएको छ । 

नेपाली कांग्रेसले पनि दक्षिणका दुई वटा गाउँपालिका ताँजाकोट र अदानचुलीमा घरदैलो अभियान सकाएर बुधबार बिहानदेखि चङ्खेली गाउँपालिकामा पुगेको कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले बताउनुभयो । मतदाताले आफ्ना अपेक्षा दलका नेतासँग स्पष्ट राख्ने गरेको र उहाँले यतिबेला चुनावी प्रचारको घरदैलो अभियान तीव्र पारिएको जानकारी दिनुभयो । सर्केगाड, खार्पुनाथ र नाम्खा गाउँपालिका बाँकी रहेकाले बिहानैबाट राति अबेरसम्म अभियानलाई जारी राख्नुपर्ने बाध्यतामा रहेको उहाँको भनाइ छ । कांग्रेसको अभियानमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कांग्रेस उम्मेदवार जयपति रोकाया, समानुपातिक उम्मेदवार ताराबहादुर लामा, संविधान सभा सदस्य रीता शाही, कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहलगायतका नेता रहनुभएको छ । 

नेपाली कम्युनिस्ट पार्टीले पनि चङ्खेली, अदानचुली, ताँजाकोट र सर्केगाड गाउँपालिकामा एकसाथ प्रचार अभियान सुरु गरेको छ । सो पार्टीका सचिव धर्मराज बोहोराले २८ जना केन्द्रीय सदस्य सहभागी भएर घरदैलो अभियान गरिरहेको जानकारी दिनुभयो । सबै नेता समूह मिलाएर गाउँ गाउँमा प्रचार गरिरहेको र उम्मेदवार डा. दीपेन्द्र रोकायाको समूह यतिबेला चङ्खेली गाउँपालिकामा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार टासी लाजोमको समूह पनि खार्पुनाथ गाउँपालिकामा प्रचारका लागि पुगेको उक्त पार्टीका जिल्ला सभापति नरजित दमाईले बताउनुभयो । उहाँको पार्टीले दक्षिणका पाँच वटै गाउँपालिकामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न अब सिमकोट गाउँपालिका प्रवेशको तयारीमा रहेको छ । 

मतदाता नफर्कने चिन्ता

निर्वाचनका लागि भारतका विभिन्न सहर र चीनको ताक्लाकोटमा कामका लागि गएका मतदान गर्न नआउने हुन् कि भन्ने चिन्ता व्यक्त गरिएको छ । निर्वाचन आउन दुई हप्ता मात्र समय बाँकी रहँदासम्म स्थानीय मतदाता नफर्किएपछि स्थानीय र उम्मेदवारलाई चिन्ता भएको हो ।  

गत कात्तिक/मङ्सिर महिनामा भारतका विभिन्न सहरमा कामका लागि गएका हुम्लाका मतदाता हालसम्म नफिर्कनु चिन्ताको विषय भएका अदानचुली गाउँपालिका–४ का हिक्मत सिंहले बताउनुभयो । आफ्नो गाउँपालिकाका छ वटै वडाबाट गरी एक हजार छ सयभन्दा बढी बेरोजगार युवकयुवती भारतका विभिन्न सहरमा काम गर्न गएको तर हालसम्म नफर्केका कारण निर्वाचनको मतदान कार्यमा सहभागी हुन नपाउने अवस्था रहेको जानकारी उहाँले दिनुभयो । उहाँले भारतको नैनीताल अल्मोडामा रहनुभएका आफन्तलाई सम्पर्क गर्न खोज्दा हिउँदभर काम गरेको पारिश्रमिक पाउने कुरा साहुसँग नमिलेका कारण आउन नसकिने जवाफ आएपछि उहाँले झनै चिन्ता थपिएको बताउनुभयो । 

अदानचुली गाउँपालिकामा चार हजार ८८९ मतदाता रहेका छन् । यता ताँजाकोट गाउँपालिका–३ का जगतबहादुर शाहीले आफ्नो गाउँपालिकाबाट दुई सय मतदाता भारतको गोरखपुर, लखनउलगायतका सहरमा काम गर्न गएको तर हालसम्म फिर्ता नभएको बताउनुभयो । चङ्खेली गाउँपालिकाबाट पनि दुई सय युवा भारतमा काम गर्न गएका तर हालसम्म फिर्ता नभएका उक्त गाउँपालिका–४ की सीता शाहीले बताउनुभयो । मतदाता ल्याउन कुनै पनि उम्मेदवारले पहल गरेका छैनन् ।  रोजगारीका लागि भारत मात्र नभएर उत्तरी छिमेकी चीनको ताक्लाकोटमा पनि सिमकोट र नाम्खा गाउँपालिकाका बेरोजगार युवा पुगेको नाम्खा गाउँपालिका–१ का प्रेमबहादुर लामाले बताउनुभयो । हाल ताक्लाकोटमा सिमकोट र नाम्खा गाउँपालिका गरी दुई सयभन्दा बढी मतदाता रहेको बताउँदै उहाँले ती सबै मतदाता नआउने बताउनुभयो । जिल्लाका सातमध्ये पाँच वटा गाउँपालिकाबाट दुई हजार दुई सय मतदाता कामका लागि भारत र चीनको ताक्लाकोटमा रहेको बताइएको छ । हुम्लामा यस पटकको निर्वाचनका लागि कुल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेका छन् ।