• ७ फागुन २०८२, बिहिबार

दुई हजार छपन्नभन्दा बढी कर्मचारी परिचालन हुने

blog

नवलपरासी समाचारदाता

कावासोती, फागुन ७ गते । पूर्वी नवलपरासीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका दुई हजार ५६ भन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । पूर्वी नवलपरासीमा दुई वटा निर्वाचन क्षेत्र छन् । दुई वटै निर्वाचन क्षेत्रमा गरी कुल ११४ मतदान स्थल र ३११ वटा मतदान केन्द्र र समानुुपातिकका लागि एक अस्थायी मतदान केन्द्र गरी ३१२ मतदान केन्द्र तोकिएको छ । ती केन्द्रमा निर्वाचन सम्पन्न गर्न दुई हजार ५६ जना कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ५८ वटा मतदान स्थल र १५७ वटा मतदान केन्द्र छन् । यो क्षेत्रमा निर्वाचन सम्पन्न गर्न कम्तीमा पनि एक हजार ३८ कर्मचारी परिचालन गरिने छ । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा ५६ वटा मतदान स्थल र १५४ वटा मतदान केन्द्र छ । यो क्षेत्रमा पनि निर्वाचन सम्पन्न गर्न कम्तीमा एक हजार १८ जना कर्मचारी परिचालन गरिने छ । समानुपातिक मतदानका लागि एउटा अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख लालप्रसाद भुसालले पाँच सयसम्म मतदाता रहेको एक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र मतदान अधिकृतले आवश्यकता हेरी तीन जना थप कर्मचारी पनि राख्न पाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

त्यस्तै पाँच सयभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा अन्य कर्मचारी यथावत् रही स्वयंसेवक थप एक जना रहने व्यवस्था रहेको उहाँको भनाइ छ । जिल्लास्थित विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारी र स्थायी शिक्षकलाई उक्त निर्वाचन सम्पन्न गर्न परिचालन गरिएको उक्त कार्यालयले जनाएको छ । उहाँका अनुसार आठ वटा स्थानीय तह रहेको पूर्वी नवलपरासीमा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल मतदाता सङ्ख्या दुई लाख ६८ हजार ५२६ जना रहेका छन् । 

तीमध्ये नयाँ मतदाता आठ हजार ६५ रहेका छन् । निर्वाचन क्षेत्र नं. १ मा मतदाता एक लाख ३७ हजार ८१ र निर्वाचन क्षेत्र नं. २ मा मतदाता एक लाख ३१  हजार ४४५ जना छन् । जिल्लाभरिका मतदान स्थललाई सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । जस अनुसार अति संवेदनशील २५ वटा, संवेदनशील ४३ वटा र बाँकी सामान्य मतदान स्थल सूचीमा छन् ।