सर्लाही समाचारदाता
सर्लाही, फागुन ७ गते । सर्लाहीसहित तराई मधेश क्षेत्रमा धुलो, धुँवाको अत्यधिक प्रकोप हुँदा मानिसमा स्वास्थ्य समस्या बढ्न थालेको छ । जताततै सडक भत्काएर नयाँ सडक निर्माण गर्ने, उखु काटेर पत्कर जलाउने र साँझपख सडक छेउ तथा घर, गोठमा घुर बालेर छाड्दा धुलो, धुवाँको अत्यधिक प्रकोप देखिएको हो । धुलो, धुवाँका कारण अहिले हरेक उमेर समूहका मानिसमा स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् ।
अधिकांश मानिसमा हिजोआज आँखा पोल्ने, रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, ज्वरो आउने, दम बढ्ने, छाती दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेको नगर अस्पताल लालबन्दीका मेडिकल अधिकृत डा. बोधराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले लालबन्दीस्थित नगर अस्पतालमा उपचारका लागि दैनिक रूपमा आउने १५० देखि दुई सय जना बिरामीमध्ये धेरैजसोमा मौसम परिवर्तनजन्य स्वास्थ्य समस्या देखिएको छ ।
चिसो कम भएर व्रmमिक रूपमा गर्मी चढ्दै जाँदा मौसम परिवर्तन भई एलर्जी, घाँटी दुख्ने, रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या बढ्दै जाने भएकाले सावधानी अपनाउन डा. बुढाथोकीको आग्रह छ । वातावरण प्रदूषणले गर्दा अहिले ससाना बालबालिकासमेत अत्यधिक बिरामी पर्न थालेका छन् । सदरमुकाम मलङ्गवास्थित स्तुति सौम्या हेल्थ केयरका बाल रोग विशेषज्ञ डा. गुणेश्वर झाले भन्नुभयो, “यो समयमा बालबालिकालाई अझ बढी स्वास्थ्य समस्या देखा पर्छ । मौसम परिवर्तन भइरहेको र जताततै धुलो, धुवाँ रहेकाले बालबालिकामा कफ बन्ने, नाकबाट पातलो सिँगान बग्ने, खोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गरेको छ ।”
लालबन्दी नगरपालिका–५, मेजरगन्जकी अम्बिका घिमिरेले गाउँका हरेक व्यक्ति अहिले रुघाखोकी र ज्वरोले बिरामी परेका जानकारी दिनुभयो । उहाँका अनुसार ससाना बालबालिकादेखि वृद्धवृद्धासम्ममा मौसम परिवर्तनजन्य सङ्व्रmमण देखा परेको छ ।
हरेक उमेर समूहका मानिसमा स्वास्थ्य समस्या देखिएकाले धुलो, धुवाँ र प्रदूषणबाट जोगिने उपाय अपनाउन चिकित्सकको आग्रह छ । रुघाखोकी र ज्वरोलाई सामान्य ठानेर जथाभावी औषधी किनेर खाँदा स्वास्थ्य थप जटिल हुने भएकाले स्वास्थ्य परीक्षण गराएर मात्रै औषधी सेवन गर्न गौर औषधालय नवलपुरका डा. देवेन्द्रकुमार झाले आग्रह गर्नुभयो ।