• ७ फागुन २०८२, बिहिबार

शहीदको त्याग स्मरण गर्दै संविधान संरक्षणमा कांग्रेस सभापति थापाको जोड

blog

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा

काठमाडौँ, फागुन ७ गते । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

बिहीबार शुभकामना सन्देश जारी गर्दै उहाँले २००७ सालको ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको स्मरण गर्नुभएको छ। उहाँले नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको उक्त आन्दोलनले नेपालको आधुनिक इतिहासको प्रारम्भ गरेको उल्लेख गर्नुभयो।

कात्तिक २६, २००७ देखि सुरु भएको जन–क्रान्तिले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा समेत अग्रगामी मार्ग प्रशस्त गरेको उहाँको भनाइ छ। मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ देशले साहसी कदम चालेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रले राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको बलियो आधार निर्माण गरेको बताउनुभयो।

उहाँले २०४६ सालको जनआन्दोलन र २०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्रा पनि फागुन ७ कै क्रान्तिको निरन्तरता भएको उल्लेख गर्नुभएको छ।

नेता थापाले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत स्थायित्व प्रदान गर्दै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सके मात्रै शहीदहरूप्रति सच्चा सम्मान हुने उहाँको विश्वास छ। उहाँले लोकतान्त्रिक मूल्य र आदर्शको रक्षा गर्दै राष्ट्र निर्माणमा एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ।