धर्मेन्द्र झा
काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७) का दिन आजभन्दा ६५ वर्ष पहिला अर्थात् २०१८ सालमा राष्ट्रिय समाचार समिति (रासस)को स्थापना भएको हो । यसर्थ राष्ट्रिय प्रजातन्त्र दिवस र राससको स्थापना दिवस दुवै खास महत्त्वका छन् । प्रजातन्त्र दिवस र राससको वार्षिकोत्सव नेपालको लोकतान्त्रिक यात्रा र सूचना प्रणालीको विकासलाई एकैसाथ सम्झने अवसरका रूपमा लिन सकिन्छ । प्रजातन्त्रले नागरिकलाई अधिकार दिएको छभने राससजस्ता विश्वसनीय सञ्चारमाध्यमले ती अधिकारको प्रयोगलाई सार्थक बनाएका छन् ।
राष्ट्रिय संवाद समिति र सगरमाथा संवाद समितिलाई गाभेर स्थापना भएको राससले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विविध सेवामार्फत समाचारसँग सम्बन्धित सामग्री आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ । स्थापनाकालदेखि आजपर्यन्त राससले समयको पदचापलाई पछ्याउँदै आवश्यकतानुसार विविध प्रकारका सेवा उपलब्ध गराएर जनताको सुसूचित हुन पाउने हकको प्रत्याभूतिका सन्दर्भमा तल्लीन रहँदै आएको सबैका सामु स्पष्ट छ ।
साढे छ दशक लामो यात्राको थालनी गर्दा राससले स्वदेश तथा विदेशका निष्पक्ष, तथ्यपरक र विश्वसनीय समाचार सङ्कलन र सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने ध्येय राखेको थियो । नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय समाचार एवम् तस्बिर हुँदै यसले पछिल्ला समयमा विचार सेवाका साथै श्रव्य र श्रव्यदृश्य समाचार सामग्री आफ्ना ग्राहक अर्थात् पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनलगायत आमसञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ । प्रारम्भमा उपयोगमा ल्याएको टाइपराइटर, लिथो, फ्याक्स र टेलिप्रिन्टरबाट सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनसँगै वर्तमानमा राससले आफूलाई परिमार्जन गर्दै कम्प्युटर, इन्टरनेट, एफटिपी हुँदै हाल आफ्नो सेवा ‘न्यूजलाइन’मार्फत निरन्तर प्रवाह गर्दै आएको छ ।
वास्तवमा सञ्चार र आमसञ्चारमाध्यमको विकासक्रम तत्कालीन समयको मागअनुसार परिमार्जित र परिस्कृत हुँदै गएको छ । आमसञ्चारमाध्यमका उपभोक्ता पाठक, श्रोता र दर्शकको चाहनाअनुसार विषयवस्तु, माध्यम र सम्प्रेषणको तौरतरिकामा पनि परिवर्तन र परिष्कृत हुँदै गएको यथार्थ हामीबाट छिपेको छैन । परेवा हुँदै इन्टरनेटसम्म ९पिजन टू इन्टनेट० को यो यात्राको विकासक्रमले यही कुराको पुष्टि गरेको छ ।
समयको गतिअनुसार सेवाको विविधीकरण र विस्तारमा जोड दिँदै आएको राससले प्रविधिको प्रयोगसँगै सेवालाई २४ सै घण्टा विस्तार गरेर नेपाली पत्रकारितामा ‘डेडलाइन’को परम्परागत मान्यतामा परिवर्तन गर्ने प्रयत्न गरेको छ । राससले नेपाली पत्रकारितामा अब डेडलाइन हुँदैन भन्ने मान्यता स्थापित गर्न सफलता प्राप्त गरेको छ भन्न पाउनु हाम्रा लागि सन्तोषको विषय हो । यसै सन्दर्भमा राससले मातृभाषामा समाचार प्रवाह गरेर समाचार सेवाको विविधीकरण र राष्ट्रिय भाषाको संवर्द्धनमा योगदान दिएको छ । पछिल्लो समयमा समावशी अवधारणालाई कार्यान्वयन गरी राससलाई वास्तविक अर्थमा राष्ट्रिय स्वरुप प्रदान गर्ने प्रयासका सन्दर्भमा अवधि, नेपाल भाषा र मैथिली भाषाका समाचार बुलेटिन प्रकाशन गरिरहेको रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै अन्य भाषामा समेत यस्ता बुलेटिन प्रकाशनको प्रयत्नमा जुटेको छ ।
आफूलाई २१औँ शताब्दी अनुकूलको अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी समाचार एजेन्सीका रूपमा विकसित गर्न रासस सेवा विविधीकरण र भौतिक पूर्वाधार विकासका साथै नवप्रवर्तन प्रवर्द्र्धनका दिशामा लागिपरेको छ । मिडिया सङ्ग्रहालयको स्थापना, स्टुडियो एवम् आधुनिक समाचार कक्षको विकास एवम् विस्तार, रासस शैली पुस्तकलगायत विविध पुस्तक प्रकाशन, २०१८ सालदेखिका राससका समाचार बुलेटिन सहज रूपमा हेर्न, पढ्न र अध्ययन गर्न सजिलो हुने गरी खुला बुलेटिन कक्ष स्थापना, बर्सेनि फोटो प्रदर्शनी राससको बहुआयामिक पक्षको सुदृढीकरणका केही झलक हुन् ।
राससले देशमा समग्र पत्रकारिताको प्रवर्द्धनमा बल पुर्याउने उद्देश्यले भरतपुरमा रासस अत्याधुनिक तालिम केन्द्रको स्थापनाका दिशामा पनि सक्रिय रहँदै आएको छ । निर्माणको अन्तिम चरणमा रहेको यो केन्द्रको उपस्थितिमा भविष्यमा पत्रकारिताको प्राज्ञिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । यतिमात्र होइन, रासस प्रदेश सरकारहरूको सहकार्य र समन्वयमा प्रदेशमा रहेका आफ्ना भौतिक संरचनाको विकास गरी प्रादेशिकस्तरमा समेत पत्रकारिता विकास तथा अनुसन्धान केन्द्रको स्थापनाका दिशामा सक्रिय रहँदै आएको जानकारी गराउन पाउनु हाम्रा लागि निश्चय पनि गौरवको विषय हो । यस्तै, राससले पछिल्लो समयमा विभिन्न स्थानमा रहेका आफ्ना भौतिक संरचनालगायत सम्पत्तिको संरक्षण र व्यवस्थापन गरेर अधिकतम् लाभ प्राप्तिको रणनीति तय गरेको छ ।
आफ्नो ६५औँ वार्षिकोत्सवको सन्दर्भ तथा १५औँ विश्व रेडियो दिवसका अवसरमा राससले यही फागुन १ गते शुक्रबारदेखि आफ्नो नवीनतम् सेवा ‘पोडकास्ट’ तर्फको पाइला चालेको छ । सूचना प्रविधि, इन्टरनेट र डिजिटल युगको उपलब्धिका रूपमा रहेको आधुनिक समयमा कुनै पनि सञ्चारमाध्यम ‘पोडकाष्ट’जस्ता नयाँ माध्यमको प्रभावबाट मुक्त हुन नसक्ने यथार्थलाई ध्यानमा राखेर राससले यस्तो प्रयास गरेको हो । परीक्षणका रूपमा ‘रासस संवाद’ पोडकाष्टको शुभारम्भ राससद्वारा समाचार सेवालाई युगानुकूल बनाउने र समयको माग सम्बोधन गर्ने महत्त्वपूर्ण यात्रारम्भ हो । सँगसँगै रासस सेवा विविधीकरणतर्फको यो एउटा थप र महत्त्वपूर्ण कदम पनि हो ।
यससँगै अन्तरराष्ट्रिय समाचार समितिहरूसँगको सहकार्यबाट अनुभवको लाभ लिएर राससलाई युगानुकूल, प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै अघि बढ्नुपर्ने आजको खाँचो र हाम्रो साझा धर्म र दायित्व हो । राससको अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा केही पहल र प्रयास भएका छन् । अन्तरराष्ट्रिय मञ्चहरूमा राससको उपस्थिति देखिन थालेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँगको सम्झौता थप परिमार्जन भएको छ भने कतार न्यूज ९क्युएनए० सँग नयाँ सम्झौता गरिएको छ । यद्यपि, समग्रमा यी सबै प्रयासहरू हुन्, पर्याप्त होइनन् । यहाँका पत्रकार र कर्मचारीको मनोबल बढाउन र वृत्तिविकासका लागि भएका प्रयास तथा गरिएका कामले नै राससका उपलब्धिलाई अझ बलियो, सङ्गठित र सुदृढ बनाउने हाम्रो विश्वास छ । यसतर्फ भएका कामलाई आगामी दिनमा अझ ठोस, वैज्ञानिक र व्यवस्थित बनाउनेतर्फ व्यवस्थापनले भविष्यमा अझै ध्यान दिने नै छ ।
वास्तवमा २०१८ फागुन ७ देखि राससको समाचार सेवाको यात्रा केवल यात्रा मात्र नभएर सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण गरेर मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र समग्र रूपान्तरणको माध्यम हुनु पनि हो । समयको मागअनुरुपको गुणस्तरीय सेवा थप्दै यसलाई समयानुकूल बनाउनु र सूचना प्रविधिसँगै तीव्र रूपमा थपिएका नयाँ नयाँ माध्यम र आम सञ्चारमाध्यमको बीचमा आफूलाई गर्विलो सेवाप्रदायक समाचार समितिका रूपमा उभ्याउनु आजको आवश्यकता हो । रासस हाल मिथ्या सूचनाको बाढी रोक्नुपर्ने दबाबमा छ । यसप्रति पनि रासस सचेत रहँदै आएको छ । यद्यपि, रासससामु थुप्रै चुनौती छन्, समस्याहरू छन् र अप्ठयारा पनि छन् । परन्तु संस्थासँग योग्य, क्षमतावान, अनुभवी, लगनशील र समर्पित जनशक्ति पनि छन्, जसको सत्प्रयासका कारण जस्तोसुकै चुनौतीको सामाना गर्न पनि रासस सक्षम हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गरेर अगाडि बढ्ने हाम्रो प्रणले निश्चय पनि सकारात्मक दिशा प्राप्त हुनेछ ।
आमसञ्चारमाध्यमको मागअनुरुप विविध समाचार सेवा थप्दै आजको बदलिदो परिवेशमा अपरिहार्य बन्दै गएको समाचार समितिको औचित्य पुष्टि गर्न सीमित स्रोतसाधनका बाबजुद क्रियाशील हुन जरुरी छ भन्ने मलाई लाग्दछ । ६५ वर्षको यो यात्रा आगामी दिनमा राससलाई सबल र अन्तरराष्ट्रियस्तरको सुदृढ समाचार समिति बन्ने लक्ष्यसहितको सत्प्रयास हो भन्न सकिन्छ । प्रजातन्त्र दिवस तथा राससको वार्षिकोत्सवको यस घडीमा लोकतन्त्रलाई सुदृढ बनाउन सूचना प्रणालीलाई बलियो बनाउनु, जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्नु र सत्यमा आधारित सार्वजनिक संवादलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकतालाई पूरा गर्न सबैले साझा प्रण गर्नुपर्ने हुन्छ । रासस
(लेखक राससका कार्यकारी अध्यक्ष हुनुहुन्छ)