चित्र कुमार मिजार
सिन्धुपाल्चोक, फागुन ७ गते । प्रतिनिधि सभा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरतप्रसाद पराजुलीले देशको सङ्क्रमणकालीन अवस्था र जनताको जनजीविकामा परिर्वतनका लागि आफु र आफ्नो पार्टीले चुनाव जित्नु पर्ने बताउनु भएको छ ।
यथास्थितिलाई त्यागेर परिर्वतनका पक्षधर रास्वपालाई मत दिन उहाँले जनतालाई अनुरोध पनि गर्नुभयो । देशमा भइरहेको अस्थिरता हटाउदै सुशासन कायम गराउने महान अभियानमा जोडिन सबै जनतालाई रास्वपा उम्मेदवार पराजुलीले मत प्रदान गर्न सुझाव पनि दिनुभएको छ ।
राजनीति पेशा र व्यवसाय नभएको भन्दै आफुले यसलाई समाजसेवा गर्ने माध्यमको रुपमा लिएकोले आफ्नो निर्वाचन क्षेत्रको समस्याहरु समाधान गर्दे समृद्ध सिन्धुपाल्चोक बनाउन आफु बिजयी हुनु पर्ने उहाँले तर्क पेश गर्नुभयो । सिन्धुपाल्चोकका परम्पराबादी दल र नेताहरुले राजनीतिलाई अकुत सम्पत्ति कमाउने थलो बनाएको पराजुलीले आरोप लगाउनु भयो ।
भदौ २३ गते जेनजी आन्दोलनमा सडक उत्रेका युवायुवतीलाई बर्बरतापूर्ण तरिकाले गोली हानेर हत्या गर्ने तत्कालीन सरकारका मतियारलाई कानुनी दायरामा ल्याएर जेलको चिसो छिँडीमा सडाउने उहाँले दावी गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रका ५४ वटै वडामा पुगेर त्यहाँका समस्या समाधानमा सधैँ लागिरहने प्रतिबद्धता गर्नुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा पूराना र परम्पराबादी दलका आफु र रास्वपा आँखाको तारो बनेको, आफु लक्षित अफवाह फैलाएकाले त्यसको सशक्त प्रतिकार गर्ने उहाँले चेतावानी दिनुभयो । जनताका घरदैलोमा पुग्दा कसैले दबाउन खोजे आफुहरु पनि हातमा दही जमाएर नबस्ने पराजुलीले बताउनुभयो ।
कुनै बेलाको बन्दुकको धँगधँगीले जनताका आधारभूत कुरा परिर्वतन गर्न नसकेको भन्दै पराजुलीले जनताका समस्यामा सुधार ल्याउन एजेण्डा चाहिने र त्यो रास्वपामा मात्रै भएको बताउनुभयो । समाजमा भ्रष्टचारले जडा गाडेकाले त्यसलाई जरैबाट फाल्न र सुशासनका लागि आफ्नो जित हुनुपर्ने उहाँको तर्क छ । यस पटक सोच र भोट बदलेर रास्वपालाई बिजयी बनाउन जनतासँग आग्रह गर्नुभएको छ ।