• ७ फागुन २०८२, बिहिबार

बाँकेमा दिगो वन व्यवस्थापनपछि वनको हैसियत सुध्रिदै

blog

लक्ष्मी तिमिल्सेना
जमुनाह, फागुन ७ गते ।
पछिल्लो समय बाँकेका सामुदायिक वनमा दिगो वन ब्यवस्थापन कार्यक्रम लागू भएपछि पहिले बिग्रिएको वनको हैसियत अहिले  सुध्रिएको छ ।  लोपउन्मुख प्रजाति सतिसाल, साज, मौवा लगायतका प्रजाति संरक्षण  हुनुका साथै बहुमूल्य प्रजातिको रुपमा रहेका साल, खयर, अस्ना लगायतका प्रजातिहरुको संरक्षण हुन थालेको छ ।

बाँकेमा एक सय १८ वटा सामुदायिक वन रहेका छन् । दिगो वन व्यवस्थापन कार्यक्रम भने बाँकेमा ११ सामुदायिक वनबाट सुरु गरिएको थियो । तर अहिले वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम सफल हुँदै गएपछि ३९ वटा सामुदायिक वनहरुमा यो कार्यक्रम लागू गरिएको वरिष्ठ वन अधिकृत सुशिल सुवेदीले जानकारी दिनुभयो ।

वनमा ‘वन संवर्धन प्रणाली’ लागू भएपछि अहिले वनको हैसियत सुध्रिएको छ । सामुदायिक वनमा आश्रित रहेका उपभोक्ताहरुको आयआर्जनको बलियो श्रोत बन्न थालेको छ । यो कार्यक्रम लागू भएसँगै समुहका उपभोक्ताहरुमा रोजगारीको समेत सृजना भएको छ । मितेरी सामुदायिक वन उपभोक्ता समुहका सुशिला चौधरीका अनुसार दिगो वन व्यवस्थापन कार्यक्रमको सवल पक्ष भनेको वनको पुनरउत्पादनसँगै काम गर्दा महिला पुरुषको समान ज्याला समेत हो ।

सामुदायिक वनका उपभोक्ताहरुले वन व्यवस्थापनका लागि झाडिसफाई, बहुमूल्य प्रजातिको रुपमा रहेका साल, खयरहरुको पुनरउत्पादन, प्रवर्धनका कामहरु गर्दै आएका छन् । आम्दानी पनि हुने भएपछि उपभोक्ताहरुले सक्रियता बढाएका छन् ।

मिचाह प्रजातिलाई हटाउदै  रैथाने बिरुवाहरुको पुनः उत्पादन र संरक्षणमा समुहले काम गर्दै आएको ज्योति सामुदायिक वन उपभोक्ता समुहका गणेश घर्ती बताउनुहुन्छ ।

दिगो वन ब्यवस्थापन लागु  भएपछि रोजागरी समेत सृजना भएको छ । यसले समुहको आयआर्जन ३ देखि ८ गुणसम्म वृद्धि भएको छ । हाल कोहलपुर क्षेत्रमा रहेका सामुदायिक वन क्षेत्रमा हुँडार, चौका, गिद्ध जस्ता प्रजातिहरुको उपयुक्त बासस्थान बन्न थालेको चरा संरक्षण कर्मी इन्द्रजित परियारको भनाइ छ ।

यसको प्रभावकारीता बढेसँगै बाँकेका थप १५ वटा सामुदायिक वनमा दिगो वन ब्यवस्थापन कार्यक्रम लागू गरिने भएको छ । यसले समुदायको आयआर्जन सगै जैविक विविधतामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।