• ६ फागुन २०८२, बुधबार

पाँचौँ ‘ए स्टार नेपाल बास्केटबल लिग’ मार्चमा

blog

बास्केटबल लिग बारे जानकारी दिँदै आयोजक ।

लन्डन, फागुन ६ गते । नेपाल बास्केटबल यूकेको आयोजना तथा ए स्टार फाइनान्सियल सलुशन्स र ए स्टार मोर्गेजेज यूकेको सहकार्यमा पाँचौँ संस्करणको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आगामी १५ मार्चदेखि सुरु हुने भएको छ। 

जुलाई ४ तारिखसम्म चल्ने यस प्रतियोगितालाई अझ बढी समावेशी र व्यापक बनाइएको आयोजकले जनाएका छन् । लिगमा कुल १४ टिमको सहभागिता रहने छ ।

जसमा पुरुषतर्फ ११ र महिलातर्फ तीन टिमबिच प्रतिस्पर्धा हुने छ । पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्ने छन् भने उत्कृष्ट आठ टोली नकआउट चरण (क्वार्टरफाइनल) मा प्रवेश गर्ने छन्। 

महिलातर्फ भने ‘होम एन्ड अवे’ प्रणालीमा प्रत्येक टिमले दुई दुई खेल खेल्ने र त्यसपछि सिधै फाइनल हुने कार्यतालिका तय गरिएको छ। लिग चरणका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र एल्डरसट ग्यारिसनमा सञ्चालन हुने छन् । फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिने छ।

प्रतियोगिताको मुख्य उद्देश्य बेलायतस्थित नेपाली युवाहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै समुदायबिच आपसी एकता सुदृढ बनाउनु रहेको नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङले बताउनुभयो । यस्तै लिगका संयोजक एवं प्रशिक्षक सार्थक गुरुङले हरेक आइतबार पाँच वटा खेल सञ्चालन गरिने बताउनुभयो । 

कार्यक्रममा लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर काउन्सिलर बिष्णु गुरुङले युवाहरूलाई लागु औषध र हिंसात्मक गतिविधिबाट टाढा राख्न यस्ता खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

यस्तै मुख्य प्रायोजक ए स्टार फाइनान्सियल सलुशन्सका प्रबन्ध निर्देशक मीन दर्लामी र मोर्गेज एडभाइजर कुमार गुरुङले नेपाली समुदायको व्यक्तित्व विकास र रचनात्मक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना कालदेखि नै लिगलाई साथ दिँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।