• ५ फागुन २०८२, मङ्गलबार

फिल्म ‘लालिमा’ को पहिलो गीत सार्वजनिक

blog

काठमाडौँ, फागुन ५ गते । आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत अभिनेत्री रोशनी कार्की र अभिनेता जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायत कलाकारका दृश्य समावेश गरेर फिल्मको कथाबारे जानकारी दिन खोजिएको छ । भिडियोमा रोशनी र जीवनको द्वन्द्व तथा प्रेम देख्न सकिन्छ । रोशनीको चरित्रमा यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको अवस्थालाई भिडियोमा देखाइएको छ ।

यस गीतमा गायिका प्रीति कौरले स्वर दिनुभएको छ । शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरकै रहेको छ । गीतको एरेन्ज, मिक्सिङ, मास्टरिङ र सङ्गीत जोशीले गर्नुभएको हो । रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौलालगायतको अभिनय छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ । हालको अवस्थामा प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा प्रदर्शन हुने ‘लालिमा’ एक मात्र फिल्म हो ।