• ५ फागुन २०८२, मङ्गलबार

निर्वाचन प्रचारमा होमिए दल

blog

काठमाडौँ, फागुन ५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न १६ दिन बाँकी रहँदा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार कार्यक्रम तीव्र बनाएका छन् । निर्वाचन आयोगले सोमबारदेखि फागुन १८ गतेसम्म निर्वाचनलाई दृष्टिगत गरी बृहत् जनसभा आयोजना गर्न खुला गरेपछि औपचारिक रूपमा देश निर्वाचनमय हुने भएको हो । 

आइतबारसम्म घरदैलो कार्यक्रम र सीमित क्षेत्रमा निर्वाचन प्रचारप्रसार सभामार्फत आफ्ना मुद्दा मतदातालाई बुझाइरहेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले सोमबारदेखि जनसभा गरेर निर्वाचन प्रचारप्रसार अगाडि बढाएका छन् । विघटित प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीसहित ६८ वटा राजनीतिक दल निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । 

नयाँ, पुराना दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार १६५ क्षेत्रमा तीन हजार ४८४ उम्मेदवार छन् । स्वतन्त्रतर्फ एक हजार १८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिएको देशको परिस्थितिलाई समालेर अगाडि बढ्ने उद्देश्य र 

अठोटका साथ निर्वाचनमा होमिएका दलहरू आफ्नो पक्षमा माहोल बनाउन प्रयत्नरत छन् । उम्मेदवारहरू मतदाताका मुद्दा बुझ्दै मत माग्न व्यस्त छन् । 

मुद्दा बुझाउँदै दलहरू

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका केही दलले घोषणापत्र सार्वजनिक गरे पनि केही दल घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् । 

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार यही फागुन ६ गते बुधबार जनकपुरधाममा बृहत् जनसभा गरेर पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरिने छ । उहाँले अर्थतन्त्रमा सुधार, परराष्ट्र नीतिसहित कांग्रेसले पाँच वर्षमा गर्ने काम प्रतिज्ञापत्रमार्फत सार्वजनिक गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा स्वच्छ र सभ्य रूपमा प्रचारप्रसार गरिरहेको छ । ठुला सभा गरेर जनतालाई आफ्ना मुद्दा थप प्रस्ट पार्ने छ ।” 

नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले सबै निर्वाचन क्षेत्रमा पार्टीले प्रचारप्रसार गरिरहेको बताउनुभयो । उहाँले जनसभा गर्ने निर्धारण भई नसके पनि तयारी भइरहेको बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन प्रचारप्रसार अभियान अगाडि बढाइरहेको बताउनुभयो । उहाँले देशभरिका १६४ निर्वाचन क्षेत्रमै नेताकार्यकर्ता परिचालन गरिएको र घरदैलो कार्यक्रमसँगै जनसभाको आयोजना भइरहेको बताउनुभयो । 

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले देशव्यापी रूपमा र निर्वाचन क्षेत्रविशेष प्रचारप्रसार कार्यक्रम आयोजना भइरहेको बताउनुभयो । जनता समाजवादी पार्टी नेपालका नेता मनीष सुमनले निर्वाचनकेन्द्रित पार्टी प्रचारप्रसार अभियान सञ्चालन गरिएको र त्यसका लागि विभिन्न केन्द्रीय तथा स्थानीय नेता परिचालन गरिएको बताउनुभयो ।

शीर्ष नेता निर्वाचन क्षेत्रकेन्द्रित 

प्रमुख राजनीतिक दलका शीर्ष नेता आआफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित हुनुभएको छ । कांग्रेस सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ मा दुई चरणको कार्यक्रम सम्पन्न गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि झापा क्षेत्र नं. ५ मा प्रचारप्रसार केन्द्रित गर्नुभएको छ । त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व र सहसंयोजक माधवकुमार नेपालले रौतहटमा निर्वाचन प्रचारप्रसार केन्द्रित गर्नुभएको छ । 

रास्वपा सभापति रवि लामिछाने चितवनमा मत माग्न व्यस्त हुँदा वरिष्ठ नेता बालेन्द्र शाह झापा क्षेत्र नं. ५ मा निर्वाचन प्रचारप्रसारमा हुनुहुन्छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि मधेशका जिल्लामा चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ । अन्य दलका शीर्ष नेता र उम्मेदवार सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा जुट्नुभएको छ ।