राधा लुइटेल
फिदिम, फागुन ३ गते । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका राजनीतिक दल र तिनका उम्मेदवारले मतदाता भेटघाट र चुनावी प्रचारलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्र्टी, राष्ट्रिय परिवर्तन पार्र्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाललगायतका दलबाट उम्मेदवारी दिएर उम्मेदवार चुनाव प्रचारलाई तीव्रता दिनुभएको छ ।
यस पटक पाँचथरमा उम्मेदवारी दर्ता गराएका अधिकांश उम्मेदवार प्रतिनिधि सभा सदस्यको चुनावमा पहिलो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य नरेन्द्रकुमार केरुङलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । यसअघि दुई कार्यकाल कांग्रेसको जिल्ला सभापति भएका केरुङ २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रदेश सभा निर्वाचनमा पराजित हुनुभएको थियो ।
यस्तै नेकपा (एमाले) ले पाँचथरबाट केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङ २०७० सालको संविधान सभा सदस्यमा समानुपातिक सूचीबाट सभासद बन्नुभएको थियो । त्यसपछि २०७९ सालको प्रदेश सभा निर्वाचनमा निर्वाचन क्षेत्र ‘ख’ बाट चुनाव लडेर माओवादी केन्द्रका इन्द्रबहादुर आङबोसँग पराजित हुनुभएको थियो ।
नेम्वाङ पनि प्रतिनिधि सभा सदस्यका लागि पहिलो पटक चुनावी मैदानमा उत्रनुभएको हो । यसअघि पार्टी सङ्गठन निर्माणमा केन्द्रित तत्कालीन नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङलाई नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रनिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । उहाँ यसअघि कहिल्यै संसदीय मोर्चामा चुनाव लड्नुभएको थिएन । नेम्वाङ यस पटक पहिलो चोटी पाँचथर जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्दै हुनुहुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले महेन्द्रविक्रम थाम्सुहाङको उम्मेदवारी दर्ता गरेर चुनावी प्रचारमा जुटेको छ । लामो समय नेकपा (एमाले) को राजनीति गरेका थाम्सुहाङ पछिल्लो समय निष्क्रिय रहे पनि यस पटक रास्वपाबाट उम्मेदवार बन्न्नुभएको हो । खेलकुद क्षेत्रको लामो अनुभव सँगालेका थाम्सुहाङ खेलाडी र युवामाझ निकै लोकप्रिय हुनुहुन्छ । उहाँ पनि यसअघि चुनाव लड्नुभएको थिएन । यसै गरी श्रम संस्कृति पार्टीबाट गायक ब्रबिम सेर्मा उम्मेदवार बन्नुभएको छ । उहाँ गायन क्षेत्रमा सव्रिmय हुनुहुन्थ्यो ।
यस्तै जसपा नेपालबाट मचिन्द्र बेघा र राष्ट्रिय परिवर्तन पार्टीबाट पाँचथर जिल्ला अध्यक्ष टेकबहादुर यवा चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई उज्यालो पार्टीको पनि समर्थन छ । २०४८ सालदेखि अधिकांश चुनाव कांग्रेस र एमालेले नै जित्दै आएका थिए । २०४८, २०५६, २०७४ र २०७९ सालमा निरन्तर सङ्घीय सांसद बनेका एमालेका वसन्तकुमार नेम्वाङ अस्वस्थ भएका कारण यस पटक चुनाव लड्नुभएन । २०५१ सालको मध्यावधि निर्वाचनदेखि निरन्तर चुनाव लडेका कांग्रेसका निवर्तमान महामन्त्री भिष्मराज आङदेम्बे पनि यस पटक समानुपातिक सूचीमा परेकाले प्रत्यक्षमा चुनाव लड्नुभएन । त्यही भएर पनि प्रतिनिधि सभा सदस्यका लागि यस पटक नयाँ अनुहारले चुनाव लड्ने अवसर पाउनुभएको हो ।