• ३ फागुन २०८२, आइतबार

आचारसंहिता उल्लङ्घनसम्बन्धी तीन वटा उजुरी

blog

बनेपा समाचारदाता 

बनेपा, फागुन ३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकमा आचारसंहिता उल्लङ्घनका उजुरी आउन थालेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा हालसम्म जिल्लामा तीन वटा आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । 

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आचारसंहिता उल्लङ्घन अनुगमन समितिका अनुगमन अधिकृत भोलनाथ गुरागाईंले समितिमा आधिकारिक रूपमा तीन वटा उजुरी आएको बताउनुभयो । उहाँले समितिमा आएका तीन वटा उजुरीमध्ये एउटा उजुरीमा संलग्न व्यक्तिसँग स्पष्टीकरण लिइसकिएको र अन्य दुई वटाको हकमा भने कारबाहीको प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

उहाँले समितिमा जिल्लाको तेमाल गाउँपालिकामा एउटा पार्टीको कार्यक्रममा विद्यालयका शिक्षकले पार्टीको झन्डा बोकेर आचारसंहिताको उल्लङ्घन गरेको उजुरी प्राप्त भएको बताउनुभयो । यस्तै जिल्लामा बेथानचोक गाउँपालिकामा रनिङ सिल्ड प्रतियोगिता सञ्चालन भइरहेको समयमा खेलकुद सामग्री हस्तान्तरण गरिएको र पनौती नगरपालिकामा कार्यरत एक कर्मचारीले कुनै एक पार्टीको बैठकमा पार्टीको पक्षमा छलफलमा सहभागी भएको उजुरी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताउनुभयो । 

उहाँले पनौती नगरपालिकाका कर्मचारी संलग्न रहेको उजुरीका सन्दर्भमा नगरपालिकामार्फत सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण सोधिएको र स्पष्टीकरणमा उहाँले चिया पसलमा चिया खाइरहेको समयमा पार्टीका नेता पनि त्यहाँ पुगेको र आफ्नो फोटो खिचेर सामाजिक सञ्जालमा हालेको स्पष्टीकरण दिएको बताउनुभयो । ती कर्मचारीले आफूले निर्वाचन आचारसंहिताको उल्लङ्घन नगरेको दाबी गर्दै निर्वाचन आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाएको सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईंको भनाइ छ । उहाँले निर्वाचन आचारसंहितामा आचारसंहिताको उल्लङ्घन भएको प्रमाणित भएमा निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपियाँसम्म जरिबाना  वा उम्मेदवारी रद्द गर्न सकिने व्यवस्था रहेको बताउनुभयो ।