शिवरात्रि हिन्दुहरूको पर्व हो । खास गरी हिन्दुबाहुल्य देश नेपाल र भारतमा यो पर्व भव्य रूपमा मनाइन्छ । शिवरात्रि शिव र रात्रि दुई शब्दको सम्मिश्रणले बन्छ । शिव हिन्दुको मुख्य आराध्य देवता मानिन्छ । शिव शब्दले चेतना र ज्ञानले युक्त शिवतत्व जनाउँछ । रात्रि शब्दले अज्ञानरूपी अन्धकार जनाउँछ । यसरी शिवरात्रि शब्दले ज्ञानद्वारा प्रज्वलित रात्रि भन्ने बुझाउँछ । शिवरात्रि त्यस्तो रात्रि हो, जहाँ अज्ञानरूपी अन्धकारको अभाव हुन्छ । काश्मीरी शैव मतका प्रखर विद्वान् लक्ष्मण जुले भनेका पनि छन्, शिवरात्रिको अर्थ श्वेत रात्रि अर्थात् उज्यालो रात्रि हो । शिवरात्रि त्यस्तो रात्रि हो, जब भक्तलाई शिवको आशीर्वाद प्राप्त हुन्छ अर्थात् उसमाथि शिवको कृपा वा शक्ति प्राप्त हुन्छ ।
यसबाट के बुझिन्छ भने शिवरात्रि त्यस्तो अवस्था हो, जहाँ ज्ञानद्वारा अज्ञानरूपी अन्धकारको अन्त्य भएको होस् अर्थात् त्यस्तो रात्रि जो उज्ज्वल र प्रकाशवान् होस् । सायद त्यसैले शिवरात्रिका अवसरमा आगो बाल्ने प्रचलन चलेको होला । सामान्य मानिस यसलाई शिवजीलाई जाडो भएकाले आगो ताप्ने गरेको पनि भन्छन् तर वास्तविकता अर्कै छ । हिमालयमा बास गर्ने शिवजीलाई आगो बाल्न पर्ने गरी जाडो होला भनी सोच्नु मूर्खता हुने छ ।
काश्मीरी शैव मत अनुसार शिवका तीन शक्ति हुन्छन्ः ज्ञान, इच्छा र क्रियाशक्ति; जसलाई त्रिका पनि भनिन्छ । सामान्य मानिस अर्थात् जीवमा ज्ञान, इच्छा र व्रिmया तीन वटै विद्यमान त हुन्छ तर सीमित वा अल्प रूपमा । जब साधनाको बलले मानिसले आफूमा निहित ज्ञान, इच्छा र क्रिया शक्तिलाई अनन्त र असीमित बनाउँछ, तब ऊ जीवबाट शिव बन्छ ।
त्रिका सिद्धान्त अन्तर्गत शिवलाई तीन अवस्थामा जानिन्छ– पर, परापर र अपर, जसलाई घोर, घोरतरी र अघोर पनि भनिन्छ । परले परम् शिव अर्थात् परमात्मा जनाउँछ भने परापरले शक्ति जनाउँछ भने अपरले जीव । सबै मानिसमा शिवतìव विद्यमान् हुन्छ तर त्यसको पहिचान साधनाद्वारा मात्र गर्न सकिन्छ र साधनाको अन्तिम विन्दुमा मानिसले परम् शिव साक्षात्कार गर्छ ।
शिव भन्नेबित्तिकै हामी हातमा त्रिशूल लिएको, जटाधारी, बाघको छाला ओडेको, शिरमा चन्द्रमा भिरेको, गलामा सर्पको माला लगाएको, शरीरमा खरानी घसेको अनि शिरबाट अटुट गङ्गा बगेको अचम्मलाग्दो प्राणीको कल्पना गर्छौं । के शिव साँच्चै त्यस्तो अद्भूत प्राणी होला त ? वास्तवमा शिव कुनै मानिस वा भीमकाय जीव नभई तìव हो, सूक्ष्मभन्दा पनि अति सूक्ष्म तìव । काश्मीरी शैव मत अनुसार यस सृष्टिमा रहेका ३६ मूल तìवमध्ये शिव सबैभन्दा सूक्ष्म तìव हो, जसलाई परम् शिव भनिन्छ । पृथ्वी सबैभन्दा ठोस तìव हो भने त्यसपछि जल, अग्नि, वायु, आकाश गरी ३६ औँ तत्व शिव तत्व हो ।
शिवको टाउकोमा देखिने चन्द्रमाले कल्पनाशील मनको प्रतिनिधित्व गर्छ भने अटुट ज्ञानको धारा नै गङ्गा हो । तीन प्रकारको दुःख, आध्यात्मिक, आधिदैविक र आधि भौतिक दुःख, हर्ने भएकाले उनको हातमा सदा त्रिशूल रहन्छ अनि गलामा लगाइएको सर्पको मालाले सजगता अर्थात् चेतनाको प्रतिनिधित्व गर्छ । शरीरमा पोतिएको खरानी संहारको प्रतीक हो, प्रलयकालमा विश्वब्रह्माण्डलाई नष्ट गरेर बाँकी रहेको खरानीको लेप आफ्नो शरीरमा लगाए जस्तो ।
शिव वास्तवमा शुद्ध चेतना हो, अद्वैत वेदान्तका प्रणेता आदि शङ्कराचार्य भन्नुहुन्छ । त्यस्तै शक्ति अर्थात् देवी चाहिँ यो संसारलाई चलायमान राख्ने ऊर्जा हो । शिवले केही पनि गर्दैन, ऊ केवल साक्षी मात्र हो भने सृष्टि, सञ्चालन र संहार सबै गर्ने शक्ति चाहिँ तिनै देवी हुन् ।
काश्मीरी शैवमत अनुसार शिवका पाँच व्रिmया हुने भएकाले कतै कतै शिवलाई पञ्चमुखीका रूपमा पनि उपासना गरिन्छ । ती पाँच क्रिया हुन्ः सृष्टि, स्थिति, प्रलय, तिरोभाव र अनुराग । शिवले संसारको सृष्टि गर्छन् अनि पालना र अन्त्यमा संहार गर्छन् । तिरोभाव अन्तर्गत शिवले अविद्याको माध्यमले आफ्नो असली स्वरूप लुकाउँछ र अनुग्रहद्वारा भक्तलाई आफ्नो असली स्वरूपको दर्शन दिन्छ ।
शिव र पार्वतीका अनेकन कथा, किंवदन्ती हिन्दु शास्त्रमा उपलब्ध छन् । स्वस्थानी व्रतकथामा पनि शिव र पार्वतीकै लीलाको वर्णन छ । महादेवको शक्तिलाई पहिचान गर्न नसकी उनलाई अवहेलना गर्नाले दक्ष प्रजापतिको यज्ञ मात्र भङ्ग नभई उसले आफ्नो शरीरसमेत त्याग्नुपर्ने हुन्छ । त्यसमा दक्षप्रजापतिले मानिसमा हुने अहङ्कारको प्रतिनिधित्व गर्छ । अहङ्कारले मानिसलाई कसरी पतनको मार्गतिर डो¥याउँछ भन्ने पाठ त्यसले सिकाउँछ । भनिन्छ, शिवले पार्वतीलाई योगका विभिन्न आसनबारे ज्ञान दिएका थिए; जुन मत्स्येन्द्रनाथ र उनका शिष्य गोरखनाथले सिकेपछि मानिसमा फैलिएको हो । त्यस कारण पनि शिवलाई महायोगी भनिएको हो । यसरी शिव र देवीबिच संवादका रूपमा कतिपय महत्वपूर्ण आध्यात्मिक ज्ञान हामी शास्त्रहरूमा उल्लेख भएको पाउन सक्छौँ ।
शास्त्रहरूमा भनिएको छ, शिवको कुनै स्वरूप हुँदैन किनकि त्यो सत्यस्वरूप हो, शुद्ध चैतन्य स्वरूप हो । त्यसो हुनाले पनि हामी अन्य देवताको जस्तो शिवको मूर्तिलाई नभई शिवलिङ्गलाई पूजा गर्छाैं । किनभने त्यो अनन्त शक्तिको प्रतीक हो, अनन्त चेतनाको प्रतीक हो, सत्यस्वरूप हो । त्यो निराकार, अजन्मा, अमर, निर्गण ब्रह्मस्वरूप हुनाले त्यसको कुनै रूप हुँदैन र हामी लिङ्ग अर्थात् चिह्नका रूपमा त्यसको उपासना गर्छांै । शिवलिङ्ग भएको मन्दिरलाई पूरै परिक्रमा गरिँदैन । त्यसको आधा मात्र परिक्रमा गर्ने चलन छ । शिवलिङ्गको दर्शन गरिसकेर आधा दायाँबाट र आधा बायाँबाट परिक्रमा गर्ने प्रचलन छ । किनभने जो अनन्त छ, त्यसको कसरी परिक्रमा गर्नु सम्भव हुन्छ ? जसको पूर्ण परिक्रमा गरिन्छ, त्यो अनन्त हुँदैन, असीमित हुँदैन ।
हिन्दुहरू साकार– सगुण, साकार– निर्गुण तथा निराकार– निर्गुण गरी विभिन्न स्वरूपमा ईश्वरको उपासना गर्छन् । आध्यात्मिक सिँढीको प्रथम खुड्किलामा साकार ईश्वरकै पूजा गरिन्छ अर्थात् मूर्ति पूजा गरिन्छ भने त्यसपछि क्रमैसँग आध्यात्मिक यात्रामा अघि बढ्ने व्रmममा मूर्तिपछि शिवलिङ्गको पूजा गरिन्छ किनकि लिङ्ग भनेको ईश्वरको चिह्न वा सङ्केत मात्र हो; जसले अनन्त ब्रह्मको स्वरूप दर्साउंँछ, लिङ्गपछि ओमकारको उपासना गरिन्छ । ओमकार शब्द ब्रह्म हो । यसरी साधक स्थुलबाट सूक्ष्मतर्फ यात्रा अघि बढाउने क्रममा मूर्तिबाट, शिवलिङ्ग अनि ऊँ र अन्त्यमा निर्गुण, निराकार ब्रह्मको उपासना गर्छन् ।
माण्डुक्योपनिषद्म भनिएको पनि छ, ओम् मा निहित अ, उ र म पछि आउने मात्रा रहित, स्वररहित वस्तु नै वास्तवमा ब्रह्म हो । त्यसमा भनिएको छ, अ, उ र म पछि पुनः अ आउनु अघिको शब्दरहित, मात्रारहित मौनता नै ब्रह्म हो । यसरी दुई श्वासको बिचको शून्य अवस्था, दुई शब्दबिचको ध्वनिरहित मौनको अवस्था नै ब्रह्म अर्थात् अन्तिम सत्य हो ।
श्वेताश्वरोपनिषद्मा महेश्वरका बारेमा यसरी वर्णन गरिएको छ, प्रकृतिलाई माया जान र महेश्वरलाई मायावी । त्यही प्रकृतिरूपी मायाद्वारा नै यो कार्यकारण स्वरूप सम्पूर्ण चराचर जगत् व्याप्त छ । अर्थात् तिनै महेश्वरले आफ्नो माया शक्तिद्वारा यो सारा जगत्को सृष्टि गरेका हुन् (श्वेत ४.१०)
अर्को श्लोकमा भनिएको छ, रुद्र एउटै छ । त्यस कारण ब्रह्मवेत्ता त्यस रुद्रबाहेक अरू कुनै कुराको अपेक्षा गर्दैनन् । त्यसले आफ्ना विभिन्न शक्तिको माध्यमले यस लोकमा शासन गर्छ र त्यो समस्त जीवभित्र विद्यमान छ । त्यसले सम्पूर्ण लोकको रचना गरी त्यसको रक्षक भएर प्रलयकालमा सम्पूर्ण लोकलाई आफूभित्र सङ्कुचित गर्छ । (श्वेत.३.२)
शिवलाई बाहिर मन्दिरमा नभई आत्मामा नै दर्शन गर्ने हो । शिवको बाहिरी रूप त सकेत मात्र हो । श्वेताश्वर उपनिषद्को भाष्यमा आदि शङ्कराचार्य लेख्छन्, “योगीहरू शिवलाई आत्मामा नै दर्शन गर्छन् प्रतिमामा हैन । जसले आत्मामा स्थित शिवलाई बेवास्ता गरी बाह्य शिवको पूजा गर्छ, उसले मानौँ हातमा रहेको भातको गाँस भुइँमा फालेर केवल हात मात्र चाट्छ ।” शङ्कराचार्यका अनुसार आत्मस्थ तीर्थलाई त्यागेर बाह्य तीर्थमा जानु भनेको हातमा रहेको हिरा फ्याँकेर बाहिर रहेको काँच खोज्नुसरह हो । तसर्थ यस महाशिवरात्रिले हामीलाई आफूभित्र रहेको शुद्ध चैतन्य स्वरूप शिवको खोजी गर्ने प्रेरणा देऊन् । संसाररूपी अविद्यास्वरूप रात्रिमा शिवरूपी ज्ञानको ज्योति जलाउन प्रेरित गरून् । जब हाम्रो हृदय मलरहित शान्त र शुद्ध हुन्छ, त्यस अवस्थामा अवश्य पनि शिवत्वको प्राप्ति हुन्छ ।