रामकृष्ण बोहरा
बागलुङ, फागुन २ गते । विद्यालयको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहीबार बागलुङ नगरपालिका वडा ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भई पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका –३ बस्ने १३ वर्षिय सुजल छन्त्यालको शुक्रबार निधन भएको हो । यसअघि बागलुङ नगरपालिका वडा ३ तातोपानीका १५ वर्षिय अमन बोहराको धौलागिरि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेका अनुसार एक जनाको गण्डकी अस्पताल, आठ जनाको मणिपाल शिक्षण अस्पताल र दुई जनाको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते संगम किसानको शरीरको विभिन्न भागमा चोट लागेको छ ।
बागलुङ नगरपालिका –३ का ८ वर्षिय नीगित किसान, ८ वर्षिय सोलुमन किसान, ५ वर्षिय आयन बोहोरा, १२ वर्षिय आयुष बोहरा, ९ वर्षिय सुमित गैरे, १० वर्षिय अनमिया किसान, ९ वर्षिय उमंग किसान, १३ की समिक्षा गैरेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
बागलुङ नगरपालिका वडा १ रामरेखाकी २५ वर्षिया सारिका बोहोरा र सोही स्थानकी १२ वर्षिया अलिस्ना किसानको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।
यस्तै, दुर्घटनाको बिषयमा छानविन गर्न जिल्लास्तरीय छानविन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबार बसेको सरोकारवालाको सर्वपक्षीय बैठकले छानविन समिति गठन गरेको हो । बागलुङ नगरपालिका –१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीको विद्यालय भ्यान बिहीबार साँझ बागलुङ नगरपालिका –३ हाडेपाखामा दुर्घटना भएको थियो ।
सर्वपक्षीय बैठकले जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख विश्वबन्धु अर्याल संयोजक रहेको समिति गठन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । समितिका सदस्यहरुमा यातायात व्यवस्था कार्यालयका मेकानिकल ईञ्जिनियर सुरेश जैशवाल, प्याव्सन र एन प्याव्सनका प्रतिनिधि दलबहादुर थापा, पीडित अभिभावकका तर्फबाट प्रिया किसान र कुशल बोहोरा, वरिष्ठ नायब निरीक्षक मिनबहादुर कुँवर, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खिमबहादुर विक रहनुभएको छ ।