• १ फागुन २०८२, शुक्रबार

बाँकेका तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त

blog

घरदैलोका क्रममा एमालेका बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राई। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, फागुन १ गते । प्रतिनिधि सभाको निर्वाचन हुन २० दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ।

विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएका उम्मेदवार अहिले जनताको घरघरमा पुगेर भेटघाट गर्दै स्थानीय समस्या बुझ्न र आफ्नो योजना सुनाउन व्यस्त देखिनुहुन्छ। बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पनि नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुगेर चुनावी अभियानलाई तीव्र बनाइरहनुभएको स्थानीयले जनाएका छन्।

क्षेत्र नम्बर २ का नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले हालसम्म नेपालगन्ज र डुडुवाका धेरै स्थानमा पुगेर मतदातासँग भेट गरी समस्या सुन्ने काम गरिसकेको बताउनुभयो। उहाँले विगतमा आफूले गरेका कामको मूल्याङ्कन जनताले गरेको पाएको जनाउँदै थप विकासका लागि मतदाताले अनुरोध गरेको बताउनुभयो। जनतासँगको भेटघाटबाट आफू उत्साहित भएको पूर्वमन्त्री राईको भनाइ छ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले पनि घरदैलो अभियानलाई तीव्र पारेको बताउँदै यस पटक कांग्रेसप्रति जनउत्साह देखिएको दाबी गर्नुभयो।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठ, राप्रपाका ऋषिराज देवकोटा एवं जसपा नेपालका कमरुद्दिन राईले पनि घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाउनुभएको छ। उहाँहरूले टोलटोल र गाउँगाउँमा पुगेर जनतासँग सुझाव लिने, छलफल गर्ने तथा समस्या बुझ्ने काम गरिरहनुभएको छ।

सोही प्रकारले क्षेत्र नम्बर १ र ३ का उम्मेदवार पनि घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ। फागुन ४ गतेदेखि प्रचारप्रसारको औपचारिक समय सुरु हुने भएकाले त्यसअघि मतदाताका समस्या सुन्ने काम गरिरहेको अधिकांश उम्मेदवारको भनाइ छ।