काठमाडौँ, फागुन १ गते । दशरथ रङ्गशालामा पहिलो पटक फागुन ४ देखि ११ गतेसम्म राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ ।
नेपाल हक्की सङ्घको आयोजनामा सोमबारदेखि सुरु हुने दोस्रो संस्करणको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा पाँच टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
‘‘टर्फमा खेलिनु पर्ने हक्कीको लागि नेपालमा आवश्यक मैदान नहुँदा सङ्घले यसअघि विभिन्न घाँसे मैदानमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । हक्की खेलको क्रेज बढाउन र खेलाडीको उत्साह जगाउनका लागि पहिलो पटक दशरथ रङ्गशालामा प्रतियोगिता सञ्चालन गर्दैछौँ । यसले हक्की खेलबारे उत्सुकता बढ्ने सङ्घले विश्वास गरेको छ,’’ श्रेष्ठले भन्नुभयो ।
विजेतालाई ७५ हजार
प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लबको सहभागिता रहनेछ । यस्तै महिलामा गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइनेछ । यस्तै महिलातर्फ राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । यसपटक आसन्न निर्वाचनका कारण विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लबले भाग लिएको छैन ।
प्रतियोगिातको विजेता टोलीले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई दुई हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख रुपियाँ खर्च हुने बताईएको छ ।
राष्ट्रिय टोली निर्माण गरिने
हक्की सङ्घले यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी पुरुष र महिलाको राष्ट्रिय टोली बनाउन लागेको सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय टोलीका खेलाडीलाई भारतको हक्की सङ्घको सहयोगमा भारतका तीन महिना तयारीका लागि पठाईने र त्यसपछि एसिया कप छनोटमा प्रतिस्पर्धा गराईने लक्ष्य सङ्घको छ ।
नेपालको पुरानो खेल हक्की विगतमा सेलाए पनि सङ्घमा नयाँ नेतृत्व आएपछि हक्कीको अन्तर्राष्ट्रिय स्टेडियम बनाउन धुलिखेलमा जग्मा प्राप्तिसहित डिपिआर तयारीको काम भएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।
महासचिव श्रेष्ठकोअनुसार सङ्घले ग्रासरुट तहदेखि नै हक्कीको विकास गर्ने उद्देश्यले विद्यालयमा हक्की विस्तार र प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई पनि अभियानको रुपमा सञ्चालन गरिरहेको छ ।