• १ फागुन २०८२, शुक्रबार

नयाँ पार्टी र नेतृत्वमा भोट हाल्न चाहनेका लागि कांग्रेस नै विकल्प : सभापति थापा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति गगन थापा ।

सर्लाही, फागुन १ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वलाई मतदान गर्न चाहनेका लागि कांग्रेस नै उपयुक्त विकल्प भएको बताउनुभएको छ । सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । किनकि कांग्रेसले आफ्नो विरासतलाई जोगाउँदै नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।”

उहाँले अबको देश युवाहरूको काँधमा रहेको र कार्यक्रममा युवाहरूको बाक्लो उपस्थिति देख्दा खुसी लागेको बताउनुभयो । युवाहरूले नै देश हाँक्नुपर्ने भएकाले सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिँदै सभापति थापाले भन्नुभयो, “सधैँ अरूले युवाहरू कहाँ छन् भनेर सोध्ने गर्थे तर आज धनकौलमा युवाहरू, खासगरी ‘जेन–जी’ पुस्ता देखेपछि धेरै खुसी भएको छु । म उहाँहरूको विचार र क्षमताको कदर गर्न चाहन्छु ।”

थापाले मधेसको जग बलियो बनाउन शिक्षा अपरिहार्य रहेको चर्चा गर्दै त्यसका लागि युवाहरूले निर्वाचनमार्फत पार्टीलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सर्लाही लगायत मधेसका जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य समस्या हुन् । यहाँको जग नै बलियो बनाउनु छ । त्यसका लागि एक युवाले आफ्नो परिवारका पाँच सदस्यलाई कांग्रेसका बारेमा बुझाउनुपर्ने स्थिति छ । युवाहरूले यसको जिम्मा लिनुपर्छ ।”

कांग्रेसको आगामी सङ्कल्प पत्रमा सर्लाहीका समस्यालाई प्राथमिकताका साथ समेट्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “सर्लाहीका समस्या कांग्रेसको सङ्कल्प पत्रमा परोस् भनेर म आजै काठमाडौँ जाँदै छु, म फेरि आउनेछु,” उहाँले भन्नुभयो ।

कांग्रेससँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले देशको नेतृत्वका लागि जिम्मेवारी दिन उहाँले आग्रह गर्नुभयो । “देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भन्नेबारे हाम्रो ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन र अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ,” सभापति थापाले भन्नुभयो ।