• १ फागुन २०८२, शुक्रबार

महिला जनप्रतिनिधिलाई जिताउन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, फागुन १ गते । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सन्जाल (सङ्कल्प)ले आगामी फागुन २१ गते हुने निर्वाचनमा महिलालाई जिताऔँ भन्ने अभियानको सन्दर्भमा सरोकारवालासँग छलफल गरेको छ । 

सङ्कल्पद्वारा आयोजित “महिला जनप्रतिनिधि जिताऔं” अभियान कार्यक्रममा सहभागीले यस पटक ११.३९ महिला जनप्रतिनिधिले चुनाव लड्ने अवसर पाएकोमा सबैलाई सम्वन्धीत क्षेत्रबाट विजयी भएर आउन सबैले सहयोग गरौं भन्ने अपिल गरिएको हो । 

राष्ट्रिय महिला आयोगका सदस्य लिली थापाले नेपाली राजनीतिमा महिलाले विविध कारणले चुनावमा लड्ने अवसर कम पाउँछन्,भन्दै यस पटक पनि ज्यादै न्युन सङ्ख्यामा मात्र महिलाले प्रत्यक्षमा लड्न टिकट पाएकोमा सबै स्थानबाट जिताउन सम्वन्धीत पार्टी र सरोकारवाला सबैले हौसला र सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“विगतमा निर्वाचनको बेला सर्वेक्षण गर्दै जाँदा मन्दिरको प्राङ्गणमा बुथ राखिएको कारण महिनावारी भएका महिलाले भोट हाल्नै नगएको घटना देखिएको स्मरण गर्दै अहिले कम्तिमा महिलामा राजनीतिक जागरण आएको छ, राजनीतिमा सक्रिय महिलाले चुनाव लड्ने आँट गरेका छन्, पार्टीले थोरै सङ्ख्यामा भएपनि पत्यादिएर दिएको टिकट खेर नजाने गरी सबै महिला उम्मेदवारलाई जिताउनतिर लाग्नुपर्छ ।”

सङ्कल्पका अध्यक्ष संगिता लामाले संविधान सभा एक र दुईको अवसरमा विगतमा नेपाली राजनीतिमा सक्रिय महिला तगा जनप्रतिनिधीबिच सङ्कल्पले निर्वाचनको बेला, निर्वाचन सकिएपछि पनि निरन्तर संसदमा उठाउनुपर्ने महिला, बालबालिका, आदिवासीका सवालमा छलफलको आयोजना गर्दै आएकोमा यस पटक निर्वाचन नजिकिदै गर्दा पनि निर्वाचन लड्दै गरेका महिला नेतृको हौसला बढाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

पूर्वमन्त्री एवम् नेतृ कल्पना धमलाले सङ्कल्पले विगतका निर्वाचनको सन्दर्भमा अन्तरक्रिया गरी माइक समेत दिएर निक्कै हौसला र प्रेरणा दिएको स्मरण गर्दै महिला जनप्रतिनिधिले आफुले जितेका क्षेत्रमा विकास, निर्माणलगायतका गतिविधी मात्र गरेर पनि पुनः चुनाव जित्न नसकिने अनुभव आफैंले पनि भोग्नु परेको बताउँदै नेपालको खर्चिलो निर्वाचन प्रणाली नै खारेज हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँले विगतमा धादिङमा निर्वाचन जितेर खानेपानीको समस्या समाधानलगायत स्थानीय विकास निर्माणका काम गरी कोठाभाडा स्वरुप पाएको मासिक १५ हजार रुपियाँले स्रोत शिक्षकको व्यवस्था गरें तर पुनः सोही स्थानमा दोस्रो पटक निर्वाचनमा हार व्योहोरे, महिलाले हजारौं समस्या पार गर्दै राजनीतिको मुलधारसम्म पुग्छौं, त्यही पनि नजित्ने समस्याले गर्दा नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्न गाह्रो भएको विचार व्यक्त गर्नुभयो । 

यसपटक समावेशी कोटामै सहभागी भएर संसदमा महिला, बालबालिका, सीमान्तकृतको आवाज उठाउने कोसिस गरेको उहाँको भनाई छ । समाजसेवी एवम् महिला अधिकार अभियन्ता स्टेला तामाङले महिलाको दोहोरो, तेह्रो जिम्मेवारीका बिच पनि राजनीतिमा सक्रिय हुने कोसिस नै ठूलो हो, भन्दै हामीले देशभरीबाट महिला जनप्रतिनिधीलाई जिताउने अभ्यासमा एकजुट हुुनुपर्ने बताउनुभयो । 

सङ्कल्पका उपाध्यक्ष शोभा बस्नेतले यस पटक बजेटलगायत विविध समस्याले सङ्कल्पले चाहे जत्ति कार्यक्रमको आयोजना गर्न नसकेपनि महिला जनप्रतिनिधिको हौसला बढाउन, निर्वाचन प्रचारमा भइरहेका विविध गतिविधीबारे जनप्रतिनिधीबिच र सरोकारवालासँग छलफल गरिएको बताउनुभयो । सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली काँग्रेस, प्रगतिसिल लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टीबाट प्रत्यक्ष र समानुपातिक सूचिमा परेका महिला जनप्रनिधिहरुले आ-आफ्ना अनुभव सुनाउनु भएको थियो ।